बेहुलाका बाबुसहित बालविवाहको जोडी मण्डपबाटै पक्राउ

धनकुटा । धनकुटा नगरपालिका ४ देब्रेबासमा शनिबार कृष्ण मङरातीको घरमा छोराको बिहे धुमधाम रुपमा मनाइँदै थियो । निम्तालुहरु विवाहस्थलमा नाचगान र भोज खाने क्रममा थिए ।

विवाह मण्डपमा टीका लगाउने कार्य चलिरहेका बेला मण्डपमै प्रहरीको गाडी आइपुग्यो । एकाएक बेहुला र बेहुलीसहित आफन्तजनलाई प्रहरीले गाडीमा राखेर लग्यो ।

बालविवाह गरेको अभियोगमा धनकुटा नगरपालिका ४ देब्रेबासस्थित विवाह मण्डपबाटै सोमबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा १९ वर्षीय बेहुला नरेश मङराती, १५ वर्षीया बेहुली सफला खड्का र बेहुलाका बाबु कृष्ण मङराती छन् ।

बेहुलीका बाबु आशिकका अनुसार उनीहरूबीच गत वैशाख १ गते बागेर अन्तर्जातीय विवाह भएको थियो । धनकुटा नगरपालिका ६ कचिडे घर भएका बेहुली पक्षले कम उमेर भएका कारण विवाह नगर्न दबाब दिए पनि केटाकेटीले भागेर विवाह गरेको बताएका छन् । ‘सम्झाइ बुझाइ गर्दा पनि केही लागेन,’ आशिकले भने ।

बेहुलाकी आमा मैया भने आफू निरक्षर रहेको र कसैले पनि बालविवाहबारे जानकारी नदिएको बताउँछिन् । बेहुलाकी आमा मैया र बाबु कृष्ण सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुवँरले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन अनुसार प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । मंगलबारदेखि अदालती प्रक्रिया अघि बढ्ने उनले बताए । यस घटनामा अभिभावकहरू पनि अनुसन्धानको दायरामा पर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया