कुशे‒०५ लाई तेस्रो बालमैत्री वडा घोषणा

No description available.
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–०५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । शनिवार वडालाई बालश्रममुक्त, हिंसा रहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको हो । यसअघि यही पालिकाको वडा नम्बर ०१ र ०९ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । घोषणासँगै यो वडा गाउँपालिकाको तेस्रो बालमैत्री वडा बनेको छ ।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । निर्देशिकाको अनुसूची ३ मा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरू तय गरिएको छ । तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

No description available.

बालमैत्री स्थानीय शासन स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न ल्याइएको शासकीय अवधारणा हो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकांश सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष हरीबहादुर सिंहले जानकारी दिए । बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष सिंहको भनाई छ ।

बालबालिका लक्षित बजेट वृद्धि गर्दै चालू आर्थिक वर्षमा गाउँपालिकाले बालबालिका लक्षित योजना तथा कार्यक्रमका लागि २० प्रतिशत बजेट विनियोजन गरेको वडाध्यक्ष सिंहले बताए ।

No description available.

बालविवाहको दरलाई शून्यमा झार्न पनि चुनौती रहेको छ । वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा कार्यालय र सेभ द चिल्ड्रेन, पहाडी क्षेत्र विकास,यार्सन जाजरकोट र कारितास नेपालको अभियान साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए ।

No description available.

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बालमैत्री वडा घोषणासँगै कार्यान्वयनको चरणलाई प्राथकिमतामा राखिने बताए । ‘हालसम्म गाउँपालिकाका तीन वटा वडा बालमैत्री बनेका छन्, अब समग्र गाउँपालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने । सत प्रतिशत जन्मदर्ता, खोप र विद्यालय भर्ना जस्ता कार्यक्रम सफल भएको र बालबिवाह समेत घटेको अध्यक्ष बस्नेतले बताए ।

No description available.

तपाईको प्रतिक्रिया