एक वर्षमा २२ वटा झोलुङ्गे पुल निर्माण


दैलेख । ग्रामीण विकास सेवा केन्द्र दैलेखले एक वर्षको अवधिमा २२ वटा झोलुङ्गे तथा ट्रस पुल निर्माण गरेको छ। कर्णाली प्रदेशका दैलेख, सुर्खेत र जाजरकोट कार्यक्षेत्र बनाएर काम गर्दै आएको केन्द्रले क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत तीनवटा जिल्लामा २२ वटा पुल निर्माण गरेको हो।

२९ औँ वार्षिक साधारणसभा तथा ९ औँ अधिवेशनमा ग्रामीण विकास सेवा केन्द्र दैलेखले आर्थिक वर्ष २०७९।०८० का लागि कर्णालीका तीनवटा जिल्ला दैलेख, सुर्खेत र जाजरकोटमा २४ वटा झोलुङ्गे पुलको डिटेल सर्भे, डिजाइन, इष्टिमेट तयार गरी स्वीकृत गराई निर्माणको चरणमा रहेका केन्द्रका सचिव भद्रबहादुर केसीले बताए।

आर्थिक वर्ष २०७८।०७९ मा क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत कर्णालीका तीनवटा जिल्लाका २३ हजार १६५ जना उपभोक्ताले प्रत्यक्ष गरेका जनाइएको छ। केन्द्रले नमुना झोलुङ्गे पुल तालिम सम्पन्न समेत गरेको जनाएको छ। तालिममा १२ वटा योजनाका उपभोक्ता समितिका ४८ जना सहभागी भएका थिए।

केन्द्रले आर्थिक वर्ष २०७८।०७९ मा ४२ लाख ३ हजार १८१ रुपैयाँ आम्दानी गरेको जनाएको छ भने खर्च ४१ लाख ९१ हजार भएको जनाइएको छ। केन्द्रले स्थापना कालदेखि नागरिकका समस्या चाहनालाई ध्यान दिँदै काम गर्दै आएको सचिव केसीले बताए।

ग्रामीण विकास सेवा केन्द्र दैलेखले आव २०८०।०८१ लागि कर्णालीका तीन जिल्लाका लागि ४२ वटा झोलुङ्गे तथा ट्रस पुल प्रस्तावित गरिएको जनाएको छ।

यसैगरी शनिवार सम्पन्न केन्द्रको अधिवेशनले मीराकुमारी स्वर्णकारको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ।

तपाईको प्रतिक्रिया