के पत्ता ? जिन्दगीमा कुन दिन कति नमिठो स्वाद भेटिन्छ भनेर । एक दिन एक्कासी मेरो जीन्दगीको स्वाद विग्रियो । मेरो चल्दा चल्दैको पढाइ रोकियो । सबसे नमिठो जिन्दगी सुरुवात भयो ।
प्राणीका लागि हावा रोकिनु जस्तो । माछाका लागि पानी सुक्नु जस्तो मेरा लागि पढाइ रोकिनु भयो । पढाइ रोकियो, पढ्ने रहर भत्कियो ! आँखाबाट खसेको झरिले मनमा पिर नाउँको लेउ उम्रीयो । मस्तिष्कमा निराशाको राक्षसले बास गर्यो ।
निम्न मध्यम वर्गीय किसान परिवार । अपांगता भएको छोरो । बा आमाको काम खेतीपाती र घाँसपात । पेट भर्न त खासै समस्या थिएन तर नगदले चल्ने कारोबार म जस्तै अपांग थिए । केही गर्न ऋणको बैशाखी टेक्नैपर्ने बाध्यता थियो । सायद आम पहाडे कृषक परिवारको वेदना उस्तै हुन्छ, जस्तो सबैको आकाशमा लाग्ने बादल उस्तै हुन्छ ।
खोइ कसको छाया परेर मेरो काया अपांग भयो ? म सजिलै हिड्न नसक्ने तर मेरा रहरहरु गगनभेदी तेजका थिए । शरीरले १ मिटर हिड्न नपाउदै रहरहरु पृथ्वीको चार फन्को लगाइसक्थे । शरीरले २० किलो उठाउन धौ मान्थ्यो तर मन देशको बोझ काँधमा बोकेर दौडन आतुर थियो ।
मनमा शहर पढ्ने रहर उम्रिएको थियो । उ बेला, पढ्न शहर जाने फेसन मालिकाको उचाइ छोइ रहेको थियो । एस.एल.सी पछि शहर छिरेन भने त्यो के विद्यार्थी जस्तो भाष्य थियो । एउटा १६÷१७ बर्षे किशोर मेरो मनमा शहरले कुकुत्याउनु कुन नौलो भयो र ? मलाई पनि शहरीया पढाई, टाइसुट वाला कलेज र अंग्रेजी मिडियमले मोहनी लगाएको थियो । बिडम्बना त्यो सौभाग्य मलाई मिलेन ।
भनिसकेँ ,ऋण नलिइ खाना लाउने बाहेकका दिन घ्रसिन्थे । बा ले मलाई पढाउन ऋण पाउनुभएन या ऋण गरि गरि म जस्तो आयूको कुनै ठेगाना नभएको रोगी अपांगलाई पढाउन मान्नु भएन । मेरो शहर जाने ,पढ्ने र केही गर्ने सपनामा आगोमा झोसियो ।
शहरमा आफन्तका घर थिए । कोही आमा पट्टिका ,कोहि बाबा पट्टिका । ल उतै बसेर पढ्न पाए हुन्थ्यो भन्ने पनि नलागेको होइन । आफन्तको घरमा त ठाउँ थियो तर मनमा ठाउँ रहेनछ । मनै साँघुरो भएपछी घर जत्रो भए पनि के भो ? ठाउँ पाइने कुरै भएन । आफन्तहरुबाट आशाको घरमा स्वागत भो । खासको घरमा पाइला टेक्न पाइएन ।
म शारीरिक रुपमा केही अशक्त छु । म मेरो हालत स्विकार्न तयार छु । तर जो परेको बखतमा सहयोग गर्दैनन्, उनीहरुको ‘दया’ मलाई चाहिएको छैन । त्यस्तो दया मेरा लागि सुर्तीको रस जस्तै हो थुकिदिन्छु, चुरोटको ठुटा जस्तै हो कुल्चिदिन्छु । पÞmोहोर जस्तै हो घिर्णा गर्छु । तिनै आफन्तहरु बडो साखुल्ले बनेर भन्दथे –“बा आमा पछि कसले खुवाउला यसलाई ? आमा बा को मृत्यु संगै मर्छ यो पनि ।”
त्यो बेला यस्तो थियो । मेरै दाजुभाउजुलाई लाज लाग्थ्यो रे म संग हिड्न । दाइ भाउजुले बौलाए भन्नुहुन्थ्यो – “तिम्रो अपाङ्ग छोरा लिएर हिड्न लाज लाग्छ हामीलाई, “भन्नू मात्रै भयो र घर अपवित्र हुन्छ, अपांगताले सन्तान हान्छ भनेर अलग हुनुभो । बा आमा संग मलाई छोडेर बुढाबुढी अलग बस्न थाले ।
कुरा बुझ्थेँ । प्रतिकृयाको कुनै शब्द भेट्दिैन्थे । एक जोडी आँखाभरी टिलपिलाउने आँशु, डाँको भित्रै निलेर पिलपिलिएका ओठहरु मेरा प्रतिकृया हुन्थे । तर ती आवाजहिन प्रतिक्रिया को सुन्ने ? के हुन्छ एउटा बालकको मन दुख्दा ? झन हातखुट्टा नभएको, गर्न केही नसक्ने म जस्ताको मन दुखे त के फरक पर्छ र ? यस्तै लागेर होला आफन्त आउथे, एउटै मन हजारौं पल्ट दुखाएर जान्थे ।
म सुन्थे, चुपचाप हुन्थे । भित्र भित्रै रुन्थे बस रोइरहन्थे । पिरको आराले मन अझ बढी तब चिर्थ्यो, जब सहर पढन् गएकाहरु छुट्टीमा घर फर्किन्थे । फेसनका लुगा लगाएका, ठाडो कपाल लर्काएका, स्टाइलिस जुत्तामा ठाँटिएर गाउँका सबैलाई ढोग्दै हिड्ने उनीहरु देखेर जेठमासमा आगो लाग्ने घरमाथिको साल घारी भन्दा चर्को गरी दनदनी मन जल्थ्यो । आफुलाई सबैभन्दा अभागी ठान्थे । भाग्य लेख्ने भाविलाई गालीको बन्दुकले सरापको गोली ठोकिरहन्थे ।
पढ्न गएका मित्रहरु म संग बोल्न अल्छी गर्थे तर आँसु यति गज्जबको मित्र बनेको थियो मनमा बादल लाग्ने बित्तिकै बर्षिन आईहाल्थ्यो । मेरा गाला सुम्सुम्याउँथ्यो अनि मन हल्का भएपछी बिदा लिन्थ्यो नौडाँडा काट्ने पखेटा भएका मेरा साथीहरु पंक्षी भएका, नौडाँडा काट्ने पखेटा भएका मेरा साथीहरु पंक्षी भएका थिए ।
उनीहरुको चाल ढाल अदा र बोलीको लवजले मलाई गिज्याइरहेको हुन्थ्यो । म त पैतला नभएको मुढो । घर्सिन्थे आँगनभरी । हिलो र धुलो पनि मेरा अच्छा साथी बनेका थिए । म संग फेसनेबल लुगा थिएन । सहरिया लवज थिएन । कुनै कलेजको म विद्यार्थी थिएन । सायद यिनै कारण साथिहरुले म संग बोल्न छाडिसकेका थिए । १ बर्ष बित्यो । साथीहरु अर्को कक्षा चढिसके म जहाँको त्यही अड्किएको थिए । साथीहरु न्यु स्कारपियो, म सडक छेउमा विग्रीएको पुरानो टेम्पो । साथीहरु बगेको भेरी, म खोपिल्टोमा अड्किएको पानी । बहुत दुख्थ्यो मन । हुन त म कक्षाको ट्यालेन्ट लेपन लागेको विद्यार्थी थिए । नियतिको पिजडामा कैद भएपछि कसको के लाग्दो रहेछ र ?
मेरो मन दुखेको कसलाई के थाहा ? मान्छेहरु त मेरो मन दुखाएर ’दया’गरेकोमा आफुलाई महान ठान्दथे । बा आमालाई खेती सँग ज्यादा प्रेम थियो । मेरो पढ्ने मनको चाहाना कहिल्यै बुझ्नुभएन । हुन त मेरै प्रेमले उहाँलाई खेतमा पुर्याउथ्यो होला । मेरै पेट भर्न दुःख गर्नुहुन्थ्यो होला । म नभएको भए दाइभाउजु दिदीहरुले बा–आमा लैजान्थे होला आफू सँग ।
घरमा पाहुना आए भने मेरो टपिकमा गफ सुरु भैहाल्थ्यो । जब गफ सुरु हुन्थ्यो म म रहन्न थे । कहिले म बिचरो हुन्थे,कहिले म अभागी हुन्थे । कहिले पुर्व जुनीको पापी हुन्थेँ । त कहिले गरी खान नसक्ने परजीवी हुन्थे । तर मलाई म रहने मन थियो । शिखरको यात्रा गरेर सफलताको चुलीमा उदाहरणको झण्डा गाड्न मन थियो । मेरो एउटै ध्यान थियो त्यही शिखरको जग बसाउने, मतलब पढ्ने ।
बाले खेत बेचेर, दश लाख खर्च गरेर उपचार गरेको प्रसंग जो कोही सँग सुनाउन ुहुन्थ्यो । १० लाख मेरा लागि जिन्दगीभर कमाउन नसकिने पैसा हो जस्तो लाग्थ्यो । सम्झिएको बेला म आफैलाई बोझ हुँ जस्तो लाग्थ्यो । धर्तीले त बोझ मान्थ्यो कि नाइ था भएन, दुनियाँले बा–आमाको बोझ त मानेकै थिए ।
पढाइ रोकिएको पनि ४ बर्ष बितिसकेछ । यी बर्षहरुमा वायुमण्डलको कती अक्सिजनलाई कार्बनडाइअक्साइड बनाए होला ? कति पाइलाहरु आगन वरपर डुलाँए होला । मनले कतिपल्ट आकाश धर्ती गर्यो होला ? तर जिन्दगीमा खास बदलाव केही थिएन । न शरीरमा स्फुर्ती थियो न मनमा उत्साह थियो । थियो त निराशा, आक्रोश र दुविधा मात्रै थियो ।
जिन्दगी सधैं उस्तै चल्ने दौड पनि त होइन । गाडीको गियर बदलिए जस्तै अब जीवनको गियर बदलियो, मैले एउटा दाइ भेटाए । साँचो अभिभावक भेटाए । सपनाहिन जीवनबाट सपना देख्ने जीवन भेटाए । सपना हिन जीवन ढुंगा जस्तै हुदो रहेछ , सपनासिल जीवन चंगा जस्तो । सायद सपना पूरा भएको जीवन गन्तव्यमा पुगेको जहाज जस्तो हुदो हो ।
सपनामै मुर्झाएको मलाई सपना देख्न सिकायो भेटिएको त्यही दाइले । सपना नभएको जीवन श्वास नभएको शरीर जस्तो पो हुदो रहेछ । म त जिउँदो लास बाँचेको रहेछु । हामीले नयाँ राजनीतिक भविष्यको सपना देख्यौँ र कुद्न लाग्यौँ । सपनाको मञ्जिल उन्मुख । सपनाका लागि काडेघारिको यात्रा पनि स्विकार्न सकिने रहेछ । तरबारको धारमा पनि रोमाञ्चक यात्रा हुँदोरहेछ ।
हामी संग उदाउँदो सुर्यको जस्तो ज्वाजल्यमान सपना थियो । हाम्रो सपनाको क्याप्टेन डिल्ली दाइ हुनुभयो । हामी अरु त्यो सपनाका सैन्य जवानहरु भयौँ । हामीले निःशुल्क र सीपमुलक शिक्षाको सपना देख्यौँ । हामीले जनताको स्वास्थ्यको पुर्ण ग्यारेण्टी गर्ने राज्यसत्ताको सपना देख्यौँ । हामीले देशका भ्रष्टहरुलाई जेल हाल्ने सपना देख्यौँ । विशेष गरि हाम्रो नगरको कथा पुर्ण रुपमा बदलिदिने सपना देख्यौँ ।
हाम्रो सपना यो देशका शासकहरुलाई बिझाएछ । उनीहरुले हाम्रा हातमा हत्कडी लगाए । जेलमा कोचे । इन्काउण्टर आदेश गरे । बजारमा रोके जेल कोचे । इन्काउण्टर आदेश गरे । बजारमा रोके । आफ्नै घर पनि घेरा हालेर घर जान परिवार भेट्न समेत रोके । तर पनि हामी झुकेनौँ । सत्ताले रोपेको कुनै काँडाले हामीलाई पीडा महसुस भएन । सत्ताले चलाएको कुनै गोलीले हामीलाई छुन सकेन । हाम्रो यात्रामा त हाम्रै आस्थाका सखिहरु अबरोध भए ।
हामीले गन्तव्य यथाबत राखेर बाटो फेर्यौँ । डिल्ली दाइले मलाई पत्रकारिता पढ्ने सल्लाह दिनुभो । हामीले मिडिया हाउस खोल्यौँ । म रुकुम खलंगा बसेर पत्रकारिताको ३ महिने अनलाइन कोर्ष गर्न लागेँ ,डिल्ली दाइले कोर्ष र खानपिन सबै मिलाइदिनुभो ।
मेरो जीवनको बिशिस्ट कोर्ष थियो त्यो । मज्जा आयो, क्षमता विकासको खास अवसर थियो । अब म पत्रकार भनेर चिनिन लागे । सबैले सुचनाको केन्द्रीकरण गर्न लागे ।आपत बिपतमा परेकाले सम्झिन लागे । म समाजको दया पात्रबाट भरोसा पात्रको रुपमा विकास हुन लागेँ ।
हिजोको गाउँको बिचरो म आज तर्कको हिरो भएँ । हिजोको गाउँ भरीको सबसे अभागी आजको भरोसा भएँ । हिजोको अपाङ्ग आज समाजको खम्बा कहलिए । करिब करिब मेरो परिभाषा बदलिएको छ गाउँमा । अझै पर्याप्त भएको छैन । यो उठान हो सफलताको अब उडान र शिखरमा बैठान बाँकी नै छ । थाहा छैन यो यात्रा कहाँ पुग्छ ? तर शिखर नपुगि अलबिदा नभन्ने कसम खाएको छु । पुग्नका लागि म संग गन्तव्य छ म त्यसमा खुशी छु ।
मेरो जिन्दगीका तीन क्षण सदा स्मरणीय छन् । पहिलो मेरो सपना भत्किएको पल । दोस्रो सपनाले पुनर्जीवन पाएको दिन । तेस्रो सपनाले सारथि पाएको क्षण । बाले जीवन दिनुभो र पुनर्जीवन पनि दिनुभो । डिल्ली दाइले बाको भुमिका बुझ्ने दृष्टिकोण दिनुभो । पुर्वाग्रह मुक्त गर्नुभयो र नयाँ सपनाका लागि तयार गर्नुभो । मेरि श्रीमती जसले मेरो सपना पूरा गर्न हरेक योगदान गर्ने बचन दिएर सपनामा सिँचाइ थपेकी छन् । उहाँहरु सबैलाई बराबर आभार छ ।
म संग त्यहि सपना छ । चौरजहारिको परिभाषा बदल्ने सपना । न्यायको सपना । सबैका लागि रोजगार मुलक शिक्षाको सपना । युवाहरुको लागि आफ्नै देश भित्र अवसर को सपना । यस्तै यस्तै सपना देखेको छु ,थाहा भएन–रंगीन हो या ब्ल्याक एण्ड ह्वाइट ।
लेखक लामिछाने चौरजहारी नपा रुकुम पश्चिमका स्थायी बासिन्दा हुन् ।
नलेज लामिछाने । २२ जेष्ठ २०८०, सोमबार