’सामाजिक, सांस्कृतिक मनोविज्ञान विरुद्धको प्रेम र सम्बन्धको घोषणा !’


मानिसको जीवन रहस्य र अनिश्चितताहरुले भरिएको वृहत् दस्तावेज हो । जसका प्रत्येक अध्यायहरु पूर्व निर्धारित छन् । जीवनको आरम्भ सूक्ष्म जीवांशदेखि भएतापनि जन्मपश्चात् नै यसको औपचारिक आरम्भ भएको मानिन्छ । जसमध्ये जन्म पहिलो अध्याय हो र मृत्युु अन्तिम । तर त्यसको बीचमा एक महत्वपूर्ण अध्याय छ विवाह ।

जन्म हुनको लागि प्रकृतिले निर्धारण गरिदिएको छ र मृत्यु पनि प्राकृतिक धारामा बग्दछ । तर जबसम्म विवाहको प्रश्न आउँछ तब भने अनेकन पूर्वसर्त र मापदण्डहरु अघि सारिन्छन् । जबकि विवाह पनि प्राकृतिक चरण हो । यसलाई मानिसहरूले स्थापना गरेनन् स्वयं प्रकृतिले स्थापना ग¥यो, परमात्माले स्थापना ग¥यो । तर हस्तक्षेप भने हमेशा मानिसको रहेको छ ।

जीवनको यात्रामा भेटिने न्यूनतम मानिसहरूसँग मात्रै यो मन जोडिन्छ । साच्चिकै जब कोहीसँग मन जोडिन्छ तब लाग्छ कि ऊ वास्तवमै मेरो निम्ति सही र मूल्यवान छ । वास्तवमै मेरो निम्ति सबथोक भन्दा माथि छ । यस्तै अनुभवले हामी पनि बाँधिएका छौँ । तर यहाँपनि मानिसको हस्तक्षेप अनुपस्थित रहन सकेन । समाज र सांस्कृतिको प्रश्नले हामीदेखि मुख मोड्न सकेन । तब एक नवीन संघर्षको जन्म भयो ।

एक पवित्र मित्रताको सूत्रमा आवद्ध दुई हृदय जब जीवनको सहयात्राको निम्ति सम्झौता गर्न तयार भए तबदेखि नै जागेका हुन् बर्षाद्का जुकाजस्तै सामाजिक सीमा र मर्यादाहरु । त्योभन्दा पहिला हामीसँग कसैको कुनै आपत्ति थिएन तर जुन दिन हामीले हाम्रो पारिवारिक संघारमा हाम्रो आजीवन सम्बन्धको लागि प्रस्ताव उभ्यायौँ त्यही दिनदेखि सबथोक विपरीत बन्न पुगेको हो । आफन्त, परिवार, इष्ट कुटुम्ब सबै विपरीत बन्न पुगे ।

आपत्ति हाम्रो सम्बन्धको लागि होइन, आपत्ति हाम्रो प्रेमको लागि होइन । बरु आपत्ति हो हामीबीचको सांस्कृतिक पर्खालको । जसलाई सदियौँदेखि हामीले नै जिउँदो राखेका हौँ । जसलाई हामीले नै मलजल गरिराखेका हौं ।

समाजको पृष्ठभुमि, धरातल र मनोविज्ञानसँग अपरिचित हामी पनि होइनौं । तर त्योभन्दा अगाडि जीवन र जगतको यथार्थतासँग पनि त परिचीत छौँ । समयको गतिशीलता र युगको आधुनिकतासँग पनि त साक्षात्कार गरेका छौँ । त्यसकारण पनि समाजको धरातल र मनोविज्ञानको विपरीत हामी बहन दुस्साहस गरेका हौं । तर स्वीकार गर्दछौं कि यो सबै सजिलो छैन । सदियौँ देखिको परम्परा र सांस्कृतिक धरोहरलाई लात मार्न हामीलाई पनि सहज लागेको छैन । त्योभन्दा पहिला त्यही सांस्कृतिक धरोहर र परम्पराको दिवारसँगै भत्किने आफन्तका हृदयप्रतिको उच्च संवेदनशीलता हामीभित्र ज्वलन्त छ ।

हुनलाई त समाज दिनानुदिन रुपान्तरित छ । हुनलाई त सभ्यताको पुरातन पृष्ठभुमिमा नवीनताको रोगन दिनानुदिन हुँदै गइरहेको छ । तथापि पुर्वीया सभ्यताको सबल सांस्कृतिक पिलरहरुमा प्रयोग भएको जातीयता र धार्मिकताको रसायन अझै पखालिन सम्भावना छैन । संस्कार नामको स्वघोषित सत्ताभित्रको पुरातात्त्विक मनुष्यता रुपान्तरण हुन अझै सहज छैन । जसको तीव्र प्रभावकारी बिषसँग हामी प्रेम र सम्बन्धको मुना बोकेर संघर्ष गरिरहेका छौं र गरिरहने छौँ ।

हामीले यो सम्बन्धको लागि निकै संघर्ष गर्नुपरेको छ । हामीले यो प्रेमको गठबन्धनलाई स्थापित गरेर जीवन्तता दिनको निम्ति अहोरात्र अभ्यस्त रहनुपरेको छ । आफन्त र परिवारका तुच्छ शाब्दिक प्रहार र आचरणबाट पटकपटक आघात हुनुपरेको छ र गंगा–जमुना बगाउनु परेको छ । कयौं रातहरु निद्राबिहीन रहेका छन् र कयौं दिनहरु भोकबिहीन रहेका छन् । प्राकृतिक जीवनको शाश्वत सन्तुलनबाट गुज्रिरहेको जीवनले कयौंपटक अस्वभाविक सास्ती खेप्नु परेको छ । यसलाई के नाम दिनु । यसलाई हामीले गरेको प्रेमको कसुर मान्नु या सामाजिक पृष्ठभुमिको उपहार ?

हुनत एक कोणबाट हेर्दा परिवार र अभिभावक पनि गलत हुनुहुन्न । उहाँहरु आफ्नो जातीय मर्यादा, सामाजिक सीमा र धार्मिक परिधी जोगाउन चाहानुहुन्छ, जसलाई कुन्नी कुन युगदेखि पो हो संरक्षण गर्दै आउनुभएको छ । जसलाई हामीले आफ्नो पिता पुर्खाको सम्पत्ति मानेर पुजा गरेका छौँ त्यसैमा कोहीले रछ्यान उठाइदेओस्, यो कसैको चाहाना र स्वीकृति हुँदैन । यसलाई उहाँहरुको दृष्टिकोणले अपराध ठह¥याउनु गलत होइन र उहाँहरुको निम्ति हामी कसुरदार रहनु स्वभाविक छ । तर त्योसँगै व्यक्तिगत स्वतन्त्रताको कुरा पनि त आउला नि । आफ्नो जीवनको निर्णय स्वेच्छिक तवरले लिन पाउनु प्राकृतिक अधिकारबाट हामी पन्छिनु पनि त स्वभाविक होइन होला भन्ने हाम्रो धारणा छ ।

हामीलाई स्वीकार छ समाज र समाजको मान्यता, जसलाई समाजले अझै पनि जोगाउन चाहे जोगाओस् । तर हामीले चाहाने केवल हाम्रो स्वतन्त्रता हो । हाम्रो निर्णयलाई, हाम्रो छनोटलाई र हाम्रो प्रेमको गठबन्धनलाई समाजले स्वीकार गर्न सक्दैन भनेपनि बीचमा तगारो नबनोस् भन्ने मात्रै हाम्रो अपेक्षा हो । जहाँ कि हामी हाम्रो जीवनको नियति र भविष्य स्वयंले चुन्न सकौँ र भोग्न सकौँ । हाम्रो जीवनको यात्रा हामीले स्वेच्छाले तय गर्न सकौँ र अन्तिम गन्तव्यको अंगिकार गर्न सकौँ ।

हुनत त्यसैपनि प्रेम गर्ने जोडीहरु चाहे जुनसुकै धरातलबाट आएका होउन्, चाहे जुनसुकै स्तरका होउन् त्यहाँ विरोध भएकै हुन्छ । छोरीले रोजेको ज्वाइँ र छोराले रोजेको बुहारी अधिकतम अभिभावकलाई स्वीकार नहुने कुरा नै हो । झन् हामी त भयौं विपरीत ध्रुबका । न जातीय समानता रह्यो न सांस्कृतिक । तबपनि हामीबीच समाज र सांस्कृति बाधा बनेर आउनु स्वभाविक नै होला । तर यसको अर्थ यो पनि होइन कि हामीले आफ्नो मौलिक जीवनको अधिकार पनि परित्याग गर्नुपरोस् ।

चाहे विज्ञानको नजरले हेरौं चाहे अध्यात्मको, हरेक जीवनको आफ्नो मौलिकता हुन्छ र त्यो मौलिकता सांस्कृति र मान्यताहरुभन्दा समुच्च हुन्छ । तर हाम्रो हकमा भने हो भने सांस्कृति र सामाजिक मान्यताहरु हामीमाथि शासन गर्न उद्धत छन् आदिकालदेखि नै । जसको कारण प्रेम गर्नको लागि पनि समान जातीयता, समान वर्गीयता, समान स्तरीयता र समान सांस्कृतिक धरातल चाहिन्छ । जबकि यो वैज्ञानिक र आध्यात्मिक दुवै तवरले गलत हो । सांस्कृति कुनै विज्ञानले बनाएन, मानिसले बनायो । सांस्कृति कुनै अध्यात्मको उपज होइन बरु सर्वसाधारण चेतनाको मान्यता हो । तर प्रेम ती सबै कुराहरूभन्दा पर छ । प्रेम अस्तित्वको आविस्कार हो र मान्ने हो भने परमात्माको वरदान हो जसको सीमा साँघुरो सांस्कृतिक परिधिभित्र रहन योग्य छैन ।
हाम्रो सम्बन्ध त्यही परमात्माको वरदानबाट अविर्भावित हो, त्यही वृहत् अस्तित्वको सिर्जना हो जसलाई सांस्कृतिक सीमितताले बन्दी बनाउनु अनुचित लाग्यो र हामी त्यही सांस्कृतिक सीमाहरूमा खडा भएका पुरातनवादी पर्खालहरुमा लात मार्न तम्सियौँ । हुनत यो सजिलो छैन । फलामको चिउरा चपाउनु भन्दा सजिलो छैन । रामले सीतालाई लंकाबाट मुक्त गराउनुभन्दा सजिलो छैन । कृष्णले महाभारत रचाउनुभन्दा सजिलो छैन र जापानले हिरोसिमा र नागासाकिमा भएको क्षतिको भरपाइ गर्नुभन्दा सजिलो छैन । तथापि बाँकी भविष्य नियतिको जिम्मामा राख्दै हामी अघि बढेका छौँ ।

संसारको कुनैपनि पुरुषले नाता नलाग्ने कुनैपनि महिलासँग विवाह गर्न पाउने, सम्बन्ध राख्न पाउने प्राकृतिक पद्धतिको आडमा हामी तम्सिएका छौँ । हामीले यसको निम्ति कम संघर्ष गरेका छैनौँ र अझै पनि जान्दछौँ कि हामीमाथि कम जोखिम पनि छैन ।तथापि हृदयको दिव्य तरंगको झंकारबाट उठेको प्रेमिल लहरलाई सम्बन्धसूत्रमा बाँध्दै साझा सहयात्राको निम्ति यो ऐतिहासिक कदम उठाएका छौँ । बाँकी नतिजा भविष्यको गर्तभित्र छ ।

हाम्रो आफ्नो छनोट, आफ्नो रोजाइ र आफ्नो हृदयले गरेको चुनावलाई हामी स्वयंले भोग्ने अनुमति दिन नसकेतापनि यसको विरोधमा पनि नआइदिनको निम्ति समाज र आफन्तजनमा नम्र निवेदन गर्दछौं र साथै हामीले लिएको यो निर्णयले सामाजिक र सांस्कृतिक रुपमा पर्न गएको चोटप्रति आफन्तजनहरु समक्ष क्षमायाचना पनि गर्दछौं । हामीले जे गर्दछौं यही सही हो भनेर दावी गर्दैनौं र हामीलाई सही नै हुन् भनेर स्वीकार गरिदिनको लागि कुनै पुर्वाग्रह पनि राख्दैनौँ ।

हाम्रो भविष्य के हो र कुन दिशातिर गइरहेका छौँ त्यसको पनि हामीसँग पुर्वानुमान छैन । तर जेहोस् र भविष्यले जस्तो परिणति देओस् त्यो हामीलाई स्वीकार्य छ । हाम्रा करिब नब्बे प्रतिशत आफन्तहरु यो सम्बन्धको खिलाफमा छन् भन्ने जान्दाजान्दै बाँकीको परिणति नियतिको हातमा छोड्दै, हाम्रो तर्फबाट यो सम्बन्धलाई सार्थकता दिनको निम्ति शतप्रतिशत अभ्यास गर्ने प्रतिज्ञा गर्दै, केही महिना अघिदेखि अनौपचारिक आन्तरिक प्रेम सम्बन्धमा रहेका हामी आजकै मितिदेखि यी समग्र जनसमुदाय र पाठकवर्गहरलाई साक्षी राख्दै यही लेख प्रमाण रहनेगरी औपचारिक दाम्पत्यसूत्रमा आवद्ध भएको घोषणा गर्दछौं ।

तपाईको प्रतिक्रिया