कालीकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । सङ्घीय सरकारको लगानीमा नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण भएपछि आफ्नै प्रशासनिक भवनवाट सेवा सुचारु गरेको हो ।नगरका प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बमले भवन सम्पन्न भएपछि सेवा प्रवाहमा सहज भएको बताउनुभयो । प्रमुख बमले विगत ६ वर्षसम्म साँगुरो टिनले छाएका ससाना कोठाबाट सेवा दिनु र सुविधा सम्पन्न भवनबाट सेवा दिनुमा धेरै फरक पर्ने बताउनुभयो ।
“अब सेवाग्राहीलाई पनि असहज छैन । नत्र कुनै आयोजनाका बारेमा कुरा गर्दा कोठामा दुई जनासम्म बस्न नमिल्ने भएकाले खुला चौरमा आउनु पर्ने अवस्था थियो । नयाँ भवन सम्पन्न भयर सेवा सुरु गरेसँगै पुराना समस्याबाट छुटकारा पाएको हो,” उहाँले भन्नुभयो ।तीन तलाको भवनमा सबै शाखा छन् । प्रशासनिक भवन सङ्घीय सरकार तथा नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो । रास्कोट नगरपालिकाका इन्जिनियर नरेशबहादुर शाहीले सङ्घ सरकार र नगर सरकारको संयुक्त लगानीमा भवन बनेको बताउनुभयो । उहाँले पाँच करोड बढीको ठेक्का भएपनि निर्माण व्यवसायीले ठेक्का घटेका कारणले भवन निर्माणका लागि तीन करोड ३९ लाख खर्च भएको बताउनुभयो ।यसमा सङ्घ सरकार र नगर सरकारको बराबर लगानी छ । तीन वर्ष अगाडी ठेक्का सम्झौता भएपनि कोरोना र स्थानीय तहको निर्वाचनका कारणले केही निर्माणमा भने ढिलाइ भएको हो ।
यस्तै, चार तलाको भवनमा सबै शाखाले सेवा दिइरहेका छन् । बैठक हल देखि विभिन्न शाखा र नगर प्रमुख उपप्रमुखका कार्यकक्षसमेत उक्त भवनभित्र व्यवस्थापन गरिएको छ ।
हाम्रो पहुँच संवाददाता । ५ जेष्ठ २०८०, शुक्रबार