काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानबाट अन्यत्र सारिने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सोमबार प्रतियोगिता पाकिस्तानबाट अन्यत्र सार्ने निर्णय गरेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।तर, एसीसीले आधिकारिक रूपमा भने यस विषयमा केही बताएको छैन । खासगरी भारतीय सञ्चारमाध्यमले प्रतियोगिता पाकिस्तानबाट सारिएको दाबी गरेका छन् । एसीसीका अध्यक्ष जय शाह भारतीय नागरिक हुन् ।पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)द्वारा अघि सारिएको ‘हाइब्रिड मोडल’ लाई एसीसीले अस्वीकार गरेको दाबी समाचारमा गरिएको छ । यसअघि एसीसीले एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना गर्ने निर्णय गरेको थियो ।तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रतियोगितामा सहभागी हुन आफ्नो टोली पाकिस्तान नपठाउने भएपछि यस विषयमा विवाद सुरु भएको थियो । दुई देशबीचको राजनीतिक सम्बन्धका कारण बीसीसीआईले भारतीय टोली पाकिस्तान नपठाउने निर्णय गरेको हो ।
भारतीय टोलीले पाकिस्तानमा नखेल्ने भएपछि पीसीबीले ‘हाइब्रिड मोडल’ अगाडि सारेको थियो । ‘हाइब्रिड मोडल’ मा एसिया कपका अन्य खेल पाकिस्तानमै गराउने तर, भारतीय टोलीको खेल भने पाकिस्तान बाहिर ‘न्युट्रल भेन्यू’ मा गराउने प्रस्ताव राखिएको थियो ।सुरुमा एसीसीका अध्यक्ष शाह ‘हाइब्रिड मोडल’ प्रति सकारात्मक देखिए पनि भारत फर्किएपछि भने उनले उक्त प्रस्तावको विपक्षमा आफ्नो धारणा राखेका थिए । त्यसपछि अहिले आएर एसीसीले उक्त प्रतियोगिता अन्यत्र सारेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।दि इन्डियन एक्सप्रेस, इन्साइड स्पोर्टस, इन्डिया टिभी, सर्कल अफ क्रिकेट, पीटीआईजस्ता भारतीय सञ्चारमाध्यमले पाकिस्तानको ‘हाइब्रिड मोडल’ लाई एसीसीका सदस्य राष्ट्रहरूले अस्वीकार गरेका दाबी गरेका छन् । पीसीबीले भने यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छैन ।श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान क्रिकेट बोर्डले पनि आगामी एसिया कप आयोजना गर्न चासो देखाएको छ । तर, एसीसीले यस विषयमा कुनै ठोस निर्णय गरिसकेको छैन । सोमबार पीसीबीका अध्यक्ष नजाम सेठी पनि एसीसीका अन्य सदस्य राष्ट्रको समर्थन बटुल्न दुबई पुगेका थिए ।पाकिस्तानले अर्को प्रस्ताव पनि अगाडि सारेको छ । पाकिस्तानले आफ्ना खेलहरू घरेलु मैदानमा खेल्ने र भारतले आफ्नो खेल युएईमा खेल्ने प्रस्ताव समेत अगाडि सारिएको थियो । तर, पाकिस्तानको उक्त प्रस्तावमा समेत सदस्य राष्ट्रहरू सहमत नभएको दाबी समाचारमा गरिएको छ ।प्रतियोगिता सर्ने भएपछि एसिया कपमा पाकिस्तानको सहभागिता समेत अनिश्चित भएको दाबी पनि समाचारमा गरिएको छ । एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र नेपाल रहेका छन् । समूह ‘बी’ मा अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका छन् ।नेपाली टोली हालै घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको हो । नेपालले फाइनलमा यूएईलाई हराएको थियो । २१ वर्षअघि पनि नेपाली टोली एसिया कपमा छनोट भएको थियो । त्यतिबेला पनि भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्धका कारण प्रतियोगिता रद्द भएको थियो ।
हाम्रो पहुँच संवाददाता । २६ बैशाख २०८०, मंगलवार