जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोर्न सहज बनाइदिने भनेर विद्यार्थीबाट पैसा असुल गरिएको छ । लक्ष्मी माद्यामिक विद्यालय परीक्षा केन्द्र र जनता माद्यामिक विद्यालयमा विद्यार्थीबाट पैसा उठाएर केन्द्राध्यक्ष र सुरक्षामा खटिएका प्रहरीलाई ’घुस खुवाएर’ चिट चोराउने भन्दै विद्यालयका लेखापालद्वारा कक्षा १२ को परीक्षा दिने सबै विद्यार्थीबाट पैसा असुल गरिएको हो ।
आजबाट सुरु हुने कक्षा १२ को प्राविधिक र सामान्यतर्फबाट विद्यार्थीबाट पैसा असुल गरिएको छ । स्रोतका अनुसार जनता माविका २ सय जना विद्यार्थीबाट प्रवेश पत्र दिँदा प्रति विद्यार्थी एक हजार, थर्पु माविमा ३९ जना विद्यार्थीबाट प्रति विद्यार्थी २ हजार ५ सय र लक्ष्मी प्राप्ती माद्यामिक विद्यालयका १ सय ९५ जना विद्यार्थीबाट प्रति विद्यार्थी एक हजारका दरले रकम असुल गरिएको छ । लक्ष्मी प्राप्ती माविका लेखापाल दलबहादुर सिंह र जनता माद्यामिक विद्यालयका लेखापाल दीपेन्द्र आरसीले पैसा लगेको नाम नबताउने सर्तमा एक विद्यार्थीले जानकारी दिए ।
विद्यार्थीबाट प्रवेश शुल्क बापतको उठाएको रकमबाट केन्द्राध्यक्षलाई ५० हजार रकम बुझाउने सर्त राखिएको एक विद्यार्थीले बताए । कक्षा १२ को परीक्षा शुल्क परीक्षा अगाडि नै विद्यार्थीले परीक्षाको बोर्डको खातामा जम्मा गरिसकेका हुन्छन् । लेखापालद्वय सिंह र आरसीले परीक्षाको अघिल्लो दिन (हिजो) आइतबार विद्यार्थीबाट थप पैसा असुल गरेका हुन् ।
थर्पु माद्यामिक विद्यालयका स्टाफ सन्त विकले आफूहरुले विद्यार्थीबाट पैसा लिएको स्वीकार गरे । उनले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार परीक्षा व्यवस्थापनका लागि विद्यार्थीहरुबाट २ हजार ५ सयका दरले रकम उठाएको बताए । तर विद्यार्थीहरु भने परीक्षामा चिट चोराउन सहज बनाइदिने भन्दै रकम लिएको बताउँछन् ।
जनता माविमा परिवेक्षकका रुपमा खटिएका थर्पु माविका प्रअ दिर्घजंग सिंहले आफूहरुले विद्यार्थीबाट पैसा नउठाएको बताए । उनले भने ’कसैले बाहिर पैसा उठाएको भए थाहा छैन। हाम्रो विद्यालयले वार्षिक शुल्क ५ हजार ३ सय विद्यार्थीहरुबाट लिएको होला, त्यसबाहेक कोही पनि विद्यार्थीहरुबाट रकम लिएका छैनौँ ।’ प्रअ र विद्यालयका स्टाफकै कुरा बाझियो । त्यसै विद्यालयका स्टाफ विकले व्यवस्थापन समितिको निर्णय अनुसार नै पैसा उठाएको हो । टेलिफोनमा भने प्रअ सिंहले भने, ’आफूहरुले विद्यालयको शुल्कबाहेक कुनै पनि रकम उठाएको छैन ।’
जनता मावि पिंकका प्रअ लोकेन्द्र सिंहको भने टेलिफोन उठ्न सकेन । लक्ष्मी प्राप्ती माविका प्रअ दिनेशकुमार सिंहले भने, ’विद्यालय नआउने र शुल्क नदिने विद्यार्थीहरुलाई परीक्षाका बेला रकम उठाएको होला, अरु कोही कसैले रकम उठाएको विषयमा मलाई जानकारी छैन, हाम्रो विद्यालयले परीक्षा शुल्कसहित वर्षका एक जना विद्यार्थीबाट ६ हजार बराबर शुल्क लिदै आएको छ ।’
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका रमेश मल्लले परीक्षा व्यवस्थित बनाउने भनेर विद्यार्थीबाट रकम उठाएको गुनासो आएको बताउँदै त्यसो नगर्न निर्देशन दिइएको बताए । उनले भने, ’यो गुनासो हामीसँग पनि आएको छ । हामीले समन्वय गरेर पैसा नलेउ भनेको हो, तर हामीले समन्वय गर्ने मात्र अधिकार छ । कारबाही गर्ने अधिकार छैन, परीक्षाको समयमा विद्यार्थीबाट रकम असुल्नु गैर कानुनी हो ।’
राष्ट्रिय परीक्षा बोर्ड सुर्खेतका प्रमूख कृष्णप्रसाद श्रेष्ठले परीक्षाको समयमा विद्यार्थीबाट पैसा उठाउने विद्यालयलाई आवश्यक कारबाही गर्ने बताए । उनले भने, ’म जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई भनेर पैसा उठाउने विद्यालयका शिक्षकहरुलाई कारबाही गर्ने र परीक्षालाई व्यवस्थित बनाउन समन्वय गर्छु ।’
यस्तै, जिल्लाको छेडागाड नगरपालिका ११ झाप्रामा रहेको बाल माद्यामिक विद्यालयले विद्यार्थीहरु बाट झण्डै एक लाख रकम असुलेको हो । अघिल्लो बर्षको परीक्षामा कम अंक ल्याएका विद्यार्थीको ग्रेड वृद्धि गर्न सहयोग गर्ने र अन्य विद्यार्थीलाई पास गराउन सहयोग गर्ने ( चिट चोराउने) भन्दै विद्यालयले परीक्षा व्यवस्थापनका नाममा रकम असुलेको हो ।
विद्यालय व्यवस्थापन समिति बाट निर्णय नै गरेर रकम असुल गरेको वडाध्यक्ष लोकेन्द्र बहादुर थापाले जानकारी दिए । जसमध्ये विद्यायले ८२ जना विद्यार्थी बाट ७ सयका दरले ५७ हजार ४ सय रुपैयाँ विद्यालयमा अध्ययन नगरी परीक्षामा मात्रै सहभागी हुने १५ विद्यार्थी बाट १५ सयका दरले २२ हजार ५ सय र अघिल्लो बर्ष ग्रेड वृद्धिका लागि २७ जना बाट प्रतिव्यक्ति ७ सयका दरले १८ हजार ९ सय रकम असुलेको हो । विद्यार्थीलाई परीक्षामा सहयोग गर्ने भन्दै खर्च व्यवस्थापनका लागि लाखौं रकम असुलेको अध्यक्ष थापाले बताए ।
केन्द्राध्यक्ष,प्रहरी विषयविज्ञलाई मिलाउँछौं भन्दै विद्यार्थीहरु बाट अवैध पैसा असुलेको हो । बालमावि झ्रापाको नारायणी माद्यामिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा हलमा जानुभन्दा पहिले पैसा बुझाएरै मात्र परीक्षामा हलमा प्रवेश गरेको एक स्रोतले जनाएको छ । अभिभावको सहमतिमा परीक्षा व्यवस्थानका लागि विद्यालय व्यवस्थापन समितिले पैसा उठाउने निर्णय गरेको विव्यस अध्यक्ष डिल्ली कुमार विटालुले बताए ।
पैसा नतिर्ने विद्यार्थीलाई फेल गराईदिने प्रअको धम्की
विद्यार्थीहरु बाट पैसा असुल्दै आएको विद्यालयले तोकिएको शुल्क नर्तिने र रकम उठाएको विरोध गर्ने विद्यार्थीलाई फेल बनाईदिने धम्की दिएको आरोप लागेको छ ।
विद्यालयका प्रधानध्यापक कमलबहादुर बस्नेतनै शुल्क उठाएको बारेमा विरोध गर्ने र पैसा नर्तिने विद्यार्थीलाई फेल गराईदिने धम्की दिएका हुन् । तोकिएको शुल्क नर्तिने विद्यार्थीलाई प्राक्टिकल नम्बर नदिई फेल गराईदिने धम्की दिएको एक विद्यार्थीले बताए । ४२ जना विद्यार्थीले पैसा किन तिर्ने भन्दै विरोध गरेका थिए ।
यता, प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले विद्यार्थी बाट पैसा असुल्ने विद्यालयलाई कारवाही गर्ने बताएका छन् ।
हाम्रो पहुँच संवाददाता । २६ बैशाख २०८०, मंगलवार