गणेशको गुहार : ‘तपाईको सानो सहयोगले मैले नयाँ जीवन पाउनेछु’ (भिडियो सहित)

No description available.
जाजरकोट । अन्तरजातीय विवाह गरेका जाजरकोट जुनीचाँदे गाँउपालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाँउकी ज्योती शाह आठ बर्ष देखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन विताईरहेका छन् ।

ठकुरीकी छोरी तल्लो जातको भनिने दलितले विवाह गरेको भन्दै माईती पक्षको धम्कीले उनीहरु विवाह गरेको आठ बर्षसम्म पनि आफ्नो घरमा जान पाएका छैनन् । सदरमुकाम स्थित भाडाको कोठामा उनीहरुले गुजरा चलाईरहेका छन् । कथित माथिल्लो जातका भनिने माईती पक्षका शाह ठकुरीको धम्कीका कारण उनीहरु विस्थापित जीवन विताउन बाध्य भएका हुन् । दलितले ठकुरीकी छोरी विवाह गरेका कारण माइती पक्षको मात्र होइन उनीहरु सामाजिक बहिष्करणमा परेका छन् । यहाँ अहिले पनि जातिय छुवाछुत कायमै छ । २०६७ सालमा गणेश १७ बर्षका थिए । ज्योती १५ बर्षकी ।

त्यतिखेरी तिनीहरु विच प्रेम बस्यो । उनीहरु वीच गहिरो मायाप्रेम बसेपछि गणेशले २०६७ साल असार २९ गते ज्योतीलाई भगाएर घर ल्याए । तल्लो जातको केटासँग विहे गरेको भन्दै तत्काल माईती पक्षले ज्योतीलाई खोसेर लगे । गणेशलाई कुटपिट गरे । परिवारलाई धम्क्याए । बालविवाहको मुद्धा लगाउने र ज्यानै लिने धम्की दिएपछि यो जोडी केही समय पछि हट्यो । वास्ता गर्न छोडे । तर, उनीहरु विचको प्रेमलाई न त जातले रोक्न सक्यो न ज्योतिका आमाबुवाको धम्कीले नै ।

उनीहरु उमेर पुगेपछि पुनः २०७२ कार्तिक ९ गते सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै गाउँबाट भागेका थिए । उनीहरु भागेर कैलालीको धनगढी गएर केही समय बसे । यता माईती पक्षले गणेश र उनका बुवा कमारा चदारा विरुद्ध ८ लाख ५० हजार चोरी गरेको आरोप सहित ईलाका प्रहरी कार्यालय गर्खाकोटमा मुद्धा दर्ता गराए । गणेशको घरमै गएर ढुङ्गामुढा गदै एक हप्ता भित्र छोरीलाई नल्याए जे पनि हुन सक्छ भन्दै धम्क्याए । प्रहरीले गणेशका बुवालाई पक्राउ गर्यो ।

छोरालाई खोजेर ल्याउँछु भनेपछि प्रहरीले गणेशका बुवालाई छोडिदियो । उनले छोराबुहारीलाई जिल्ला सदरमुकाम खलंगा बोलाए । गणेश धनगढीबाट खलंगा आए । सुरक्षाका कारण देखाउँदै गर्खाकोट जान नसक्ने बताएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालयमै बयान लियो । दुवै पक्षको बयानका आधारमा ज्योतीका बुवा उत्तम शाहले चोरी गरेको भनि दर्ता गराएको मुद्धा झुटा ठहर भयो ।

प्रहरीले पनि उमेर पुगेका केटाकेटीको मनचित्त लागेर विहे गरे अरुले हस्तक्षप गर्न नहुने बताउँदै दुवै पक्षलाई मिलापत्र गर्न आग्रह गर्यो तर माईती पक्षकाले मिलापत्र गर्न मानेनन् फर्केर गए । गाउँ गए उनीहरुको सम्बन्धविच्छेद गराउने र जतिखेर पनि आक्रमण हुन सक्ने डरले आफुहरु गाँउ जान नसकेको गणेशले बताए ।

गाउँकै शिवपुरी माध्यामिक विद्यालयमा दुवै जना अध्ययन गर्थे । ११ कक्षा दुवै जना पास भयौ तर, १२ कक्षाको परीक्षा दिन पाएनौ गणेशले भने ‘१२ कक्षाको परीक्षा आवेदन फारम भरेपनि माईती पक्षको धम्कीका कारण परीक्षा दिन पाएनौ ।’ गाँउमै रहेको विद्यालयमा अध्ययनरत उनीहरु माईती पक्षको धम्कीका कारण दुई पटक परीक्षा छुटाईसकेका छन् ।

विद्यालयले स्थानान्तरण समेत नगरिदिएपछि उच्च शिक्षा पढ्ने धोको पुरा हुन नसकेको उनले गुनासो गरे । दुवै बेरोजगार । सदरमुकाममा खान बस्न समस्या भएपछि गणेशले केही समय पहिले सामाजिक विकास कार्यालय कार्यालय सहयोगीको काम गथ्र्ये । तर गत साउन बाट करारको सयम थप नभएपछि गणेशले जागिर गुमाए ।

ज्योतिले सदरमुकाममै सानो घुम्ति खुद्रा पसल चलाउथिन् । ‘जेनतेन गुजरा चलेको थियो ।’ जागिर गुम्यो, घुम्ती गुम्यो । अनि गणेश र ज्योतीको जीवनमा ठूलो समस्या थपियो । अर्थात घाँटीमा क्यान्सर । चितवनमा रहेको क्यान्सर हस्पिटलमा गणेशले उपचार गराए । उपचारमा १० लाख बढी खर्च भयो । घाँटीको अप्रेशन गरे ।

आफन्त, साथीभाईहरुको सहयोगले केही राहत पाए । अहिले प्रति महिना पचास हजारको औषधी खाईरहेका छन् । ज्याला मजदुरी गरेर परिवार पालिरहेका गणेशले अहिले महिनाको पचास हजार कसरी जुट्याउने भन्ने समस्याले सताईरहेको छ । देश तथा विदेशमा रहेका सम्पूर्ण साथीभाईहरु सँग सहयोगको अपिल गरिरहेका छन् । गणेशका दुई छोरी छन् ।

सहयोगी मनहरुलाई तल दिइएको नम्बरमा 986-0026341 सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दैछौ धन्यवाद ।
नाम: GANESH KUMAR CHADARA
Account number:B887676365524001
NIC ASIA
Branch – Jajarkot

 

तपाईको प्रतिक्रिया