जाजरकोट । डाक्टरको अभावमा ५० शैयाको जाजरकोट अस्पतालमा आउने बिरामी उपचार विनै फर्कनुपर्ने वाध्यता रहेको छ । छ जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पतालमा एक जना करार सेवाका डाक्टरले सेवा दिइरहेका छन् । अस्पतालमा इमर्जेन्सी सेवाका लागि आएका बिरामी समेत बिनासेवा अस्पतालबाट फर्कनुपर्ने अवस्था रहेको छ ।
अस्पतालका डा सुनील पुनः गत वर्षदेखि अध्ययन बिदामा हुनुहुन्छ । जिल्लामै सुविधा सम्पन्न स्वास्थ्य सेवा दिने उद्देश्यले ५० शय्याका लागि भवन निर्माण गरिए पनि स्थानीयले सामान्य स्वास्थ्य सेवासमेत प्राप्त गर्न सकेका छैनन् । विषयविज्ञ चिकित्सक नहुँदा निजी क्लिनिक र औषधी पसलबाट औषधी खरिद गर्न स्थानीय बाध्य छन् ।
भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले सुगर प्रेसर जाँच गर्न जाँदा डाक्टर नपाएको गुनासो गर्नुभयो । स्वास्थ्य जाँचका लागि पुगेका सर्वसाधारण अस्पतालमा चिकित्सक नभेटेपछि फर्कने गरेका छन् । डा. भूपेन्द्र बजगाईंका अनुसार यसरी दैनिक रूपमा ३० जना बिरामी बिनासेवा फर्कने गरेका छन् । ओपीडी, रात्रि सेवा गरी दिनमा ३० जना बिरामी मात्र जाँच्न सकिने डा बजगाईंले बताउनुभयो ।
भेरी नगरपालिका–४ का सत्यदेव शर्माका अनुसार १५ शय्याबाट स्तरोन्नति गरी ५० शय्याको अस्पताल बनाइए पनि सेवासुविधा नपाउँदा रुकुम पश्चिमको चौरजहारी, नेपालगञ्ज, सुर्खेत लगायत स्थानमा उपचारका लागि लैजानु परेको बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कँडेलले दुई जना डाक्टर तालिममा गएपछि सबैतिर एक जनाले मात्र हेर्दा समस्या भएको बताउनुभयो । केही दिनमा तालिममा गएका चिकित्सक फर्किएपछि सेवाबाट वञ्चित हुनुपर्ने समस्या हट्ने कँडेलले बताउनुभयो ।
हाम्रो पहुँच संवाददाता । २१ बैशाख २०८०, बिहीबार