कर्मठ स्वास्थ्यकर्मीसँग अकल्पित घटना


सुर्खेत । ‘मान्छेहरु रोई रहेको सुनेपछि के भएछ भनेर दौड्दै पुगेँ’, जाजरकोट भेरी नगरपालिकामा कार्यरत जनस्वास्थ्य निरिक्षक दीपक वलीले भने, ‘सडकमा कुनै दुर्घटना भएछ कि भनेर दौड्दै पुगेको थिए । सुत्केरी महिला पीडाले रोईरहेकी थिइन् ।’ जाजरकोटको भेरी नगरपालिका-३, भेटनरी टोल नजिकै सडक क्षेत्रमै सुत्केरी महिलाले शिशुलाई जन्म दिइन् । बिहिवार विहान भएको यो घटनामा सुत्केरीलाई प्रसुतीमा सहयोग गरेका स्वास्थ्यकर्मी उनै दीपक वली हुन् ।

घटना पछि युगआह्वान दैनिकसँग टेलिफोनमा कुराकानी गर्दै उनले भने, ‘सुत्केरी महिला प्रश्रव पीडामा रुँदै गरेको फेला पारेपछि तुरुन्तै कार्यालयमा फर्किए र औजारसहित पुगेर बच्चाको नाल काटे र साल निकालेर आमा बच्चा दुवैलाई अस्पताल पठाएँको हुँ ।’ कार्यव्यस्तताका कारण बिहिवारका दिन सबेरै कार्यालय आएका वलीलाई यो घटनाले आश्चर्य त पारेको छ, यसका साथै उनी प्रश्रव पीडामा छट्पटाएकी सुत्केरी महिलालाई सहयोग गर्न पाउँदा हर्षित समेत छन् ।

कामको व्यस्तताका कारण उनी विहान ९ बजे नैं नगरपालिकाको स्वास्थ्य शाखामा उपस्थित भईसकेका थिए । कार्यालयको केहि काम सकेसँगै बाहिर निस्किएका उनले सडकमा महिला रोईरहेको फेला पारे । सुत्केरी महिलालाई प्रश्रव पिडामा फेला पार्दा महिलालाई सोहि अवस्थामै तत्काल अस्पताल पुर्‍याउन सकिने सम्भावना नै थिएन । उनले भने, ‘ति महिला यसअघि पनि आमा बनिसकेकी होलिन् । पहिलो पटक भन्दा दोस्रो र तेस्रो पटक सुत्केरी भएकालाई सामान्यतया प्रश्रव व्यथा थोरै समय लाग्छ । यो घटनामा पनि त्यहीँ भएको हुनुपर्छ ।’

तत्काल अस्पताल पठाउने अवस्था नभएपछि उनले नगरपालिकाको स्वास्थ्य शाखाबाट कैचिलगायतका स्वास्थ्य उपकरण ल्याए र महिलालाई सहयोग गरे । महिलाले शिशुलाई जन्म दिईसकेपछि भने नगरपालिकाबाट स्टेचर मगाएर उनले विरामीलाई तुरुन्तै जिल्ला अस्पताल तर्फ पठाए । ‘उहाँहरु बस्ने ठाउँबाट मुलबाटो तिर हिँडेर आउनुपथ्र्यो । मुल बाटोमा आएर मात्र सवारी पाउँन सकिन्छ ।

बच्चा जन्मनासाथ शाल र बच्चा छुट्टाएपछि बाटोमै अलमल नपारी अस्पताल पठाईदिएको हुँ’, उनले भने, ‘स्वास्थ्य क्षेत्रमा मैले काम गरेको करिव १५ वर्ष जति भयो । १३ वर्ष स्थायी र दुई वर्ष अस्थायी कर्मचारीको रुपमा काम गरेको छु । यस अघि पनि यहाँ दुर्गम भेगमा नागरिकको स्वास्थ्य उपचारमा खटिदै आएको छु ।’

स्वास्थ्य सेवा पहुँच नभएकै हो ?
जनस्वास्थ्य निरिक्षक वलीले दिएको जानकारी अनुसार सुत्केरी महिलाको वसोवास गरेको क्षेत्र देखि करिव २० मिनेटको पैदल दुरीमा जाजरकोट जिल्ला अस्पताल पर्छ । भेटनरी टोलदेखि उकालो बाटोमा अस्पताल पर्ने भएकाले पनि महिलालाई स्वास्थ्य संस्थामा पुग्न समय लागेको वलीको धारणा छ ।

अस्पतालतर्फ जाने मुख्य बाटो आईपुग्दा नै महिलालाई प्रश्रव पिडाले समस्या सिर्जना गरेको थियो । अस्पतालका लागि पैदल नै आएकी उनी घरदेखि मुल बाटोमै आईपुग्दा पिडाले थला परेको हुनसक्ने वलीको भनाई छ । उनले भने, ‘मैले भेट्दा उहाँहरु पैदल नै आएको जस्तो देखिन्छ । पछि हामीले स्टेचर मगाएर अस्पताल पठाँएका हौँ ।’

के छ स्वास्थ्य अवस्था ?

बोटामै सुत्केरी भएकी महिला, ३० वर्षीय भूमिका रोकाय हुन् । जिल्ला अस्पतालको प्रारम्भिक सूचनाका अनुसार सुत्केरी महिलाको स्थायी ठेगाना छेडागाड नगरपालिका-१३ हो । हाल उनी भेरी नगरपालिका-३ मै वसोवास गरिरहेकी थिइन् । सुत्केरी भएलगत्तै स्टेचर मार्फत जाजरकोटको जिल्ला अस्पताल पुर्‍याएपछि त्यहाँ उनले थप स्वास्थ्य सेवा पाइन् ।

हाल उनी र शिशुको स्वास्थ्य अवस्था सामान्य नै छ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलले भने, ‘अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य नै छ । अस्पतालका चिकित्सकहरुले नियमित रेखदेख गरिरहनु भएको छ ।’

यूग न्युज बाट साभार गरिएकाे ।

तपाईको प्रतिक्रिया