जाजरकोट । जाजरकोटका प्रतिनिधिसभा सदस्य एवं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिवहादुर बस्नेतले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नु भएको छ । नेकपा माओवादी केन्द्रका उप महासचिव समेत रहेका मन्त्री बस्नेतले मंगलबार आफ्नो खर्च विवरण सार्वजनिक गर्नुभएको हो ।
२०७९ मंसिर ४ गते भएको निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा वुझाउने प्रावधान अनुरुप मन्त्री बस्नेतले यस अघि कार्यालयमा वुझाई सक्नुभएको थियो । कार्यालयमा वुझाई सकेपछि पुनः त्यस खर्चलाई कुनै पनि सार्वजनिक सञ्चार माध्यम मार्फत सार्वजनिक गरि सोको विवरण कार्यालयमा जानकारी गराउने प्रावधान अनुरुप यो विवरण सार्वजनिक गरिएको पत्र समेत कार्यालयमा वुझाईएको मन्त्री बस्नेतका निजी सचिव देव बोहोराले जानकारी दिनुभएको छ ।
सार्वजनिक गरेको खर्च विवरण अनुसार गाडी भाडा तर्फ ९ लाख, पोष्टर , पम्पलेट तथा प्रचार सामाग्री तर्फ ४ लाख २७ हजार, खाजा, खाना तर्फ ५ लाख सञ्चार तथा इन्टरनेट तर्फ ३ लाख रकम खर्च भएको छ । यस्तै, कार्यालय सञ्चालन तर्फ १ लाख, प्रतिनिधि परिचालन तर्फ २ लाख ८४ हजार र गोष्ठी,अन्तरक्रिया तथा सभा तर्फ ५ लाख गरी जम्मा तीस लाख रुपैयाँ खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७२ तथा आयोगद्धारा स्वीकृत निर्वाचन आचारसंहिता वमोजिम वुझाउने व्यवस्था रहेको छ ।
हाम्रो पहुँच संवाददाता । १२ बैशाख २०८०, मंगलवार