अन्तरजातीय विवाह गर्ने जोडीलाई चौरजहारी नगरपालिकाले १ लाख दिने


रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई १ लाख रुपैयाँ दिने भएको छ । प्रोत्साहन स्वरुप चालु आर्थिक वर्ष २०७९÷०८० देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई १ लाख रुपैयाँ दिने कार्यक्रम नगरपालिकाले बनाएको छ । जसका लागि नगरपालिकाले चालु आवका लागि ५ लाख रुपैंया विनियोजन गरेको नगर प्रमुख पुष्प वादीले जानकारी दिए ।

यो आर्थिक वर्ष देखि विवाह गर्ने अन्तरजातीय जोडीले अव देखि प्रोत्साहन स्वरुप १ लाख रुपैंया पाउने उनले बताए । जसअनुसार यस वर्ष अन्तरजातिय विवाह गरेको एक जोडीले प्रोत्साहन रकमका लागि कागजात पेश गरेको छ । वडा नम्बर ३ का सरोज बटाला र ७ की कमला परियारको जोडीले १ लाख रुपैंया पाउँदैछ ।

उक्त जोडीलाई प्रोत्साहन रकम प्रदान गर्ने कार्यपालिकाबाट निर्णय भइसकेको नगर प्रमुख वादीले बताए । उनका अनुसार आर्थिक समृद्धि र सामाजिक रुपान्तरण अभियान अन्तर्गत यो कार्यक्रम बनाइएको हो । यसबाट सामाजिक सदभाव कायम हुने र जातीय छुवाछुत तथा विभेदलाई न्यूनीकरण गर्ने उदे्श्य राखिएको उनले बताए ।

समाज परिवर्तनका लागि योगदान गर्ने जोडीलाई प्रोत्साहन होस र उनीहरुलाई जीविकोपार्जनका लागि कुनै व्यवसाय संचालन गर्न सहज होस भनेर आर्थिक प्रोत्साहनको कार्यक्रम बनाइएको उनको भनाई छ । अन्तरजातीय विवाहलाई छुटाउन विभिन्न प्रयत्न हुने गरेको अवस्थामा यो कार्यक्रमले त्यसलाई पनि केही हदसम्म रोक्ने विश्वास नगरपालिकाको छ ।

तपाईको प्रतिक्रिया