डोल्पामा लुकेर यार्सागुम्बा टिप्न जाने १३ जना पक्राउ


सुर्खेत । डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् ।
यार्सा संकलनका लागि अनुमति दिइनुअघि नै पाटन छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र रामवाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो ।

जगदुल्ला गाउँपालिका ४ चौरोकोटका सोमराज रोकाय, मान बहादुर थापा, वसन्त सिंह, कर्मा प्रसाद विक र मुड्केचुला गाउँपालिकाका मनोज बुढा, धन बुढा, भिम बुढा, जनम बुढा, धन बहादुर बुढा, मुकु बुढा, सर्वराज बुढा पक्राउ परेका हुन्। यस्तै जुम्ला गज्याङकोटका प्रकाश बुढा र कालिगार बुढा पनि पक्राउ परेका छन् ।

रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लाल बहादुर भण्डारीले उनीहरू सबै निकुञ्जको तोइजुम पोष्टबाट पक्राउ परेको जानकारी दिए । डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्सा संकलन पाटन खुलाइन्छ । यार्साका लागि पाटन नखुल्दै उनीहरू अवैध रूपमा पाटन छिर्न खोज्दा पक्राउ गरेको निकुञ्जले जनाएको छ ।

त्यसैगरी कुनासा र पुनिखा पाटनमा अवैध रुपमा छिरेका ४० जनाको हाराहारीमा रहेको समूहलाई निकुञ्ज र सेनको संयुक्त गस्ती टोलीले चारैतिरबाट घेरा हालेकाले केही समयमा पक्राउ गर्ने प्रमुख संरक्षण अधिकृत भण्डारीले जानकारी दिए ।

यो वर्षको यार्सा संकलन गर्ने समय नजिकिँदै गर्दा एकसाता देखि निकुञ्जका कर्मचारी र सेनाले निकुञ्ज क्षेत्रमा पर्ने यार्सा पाटनमा संयुक्त गस्ती गरिरहेको निकुञ्जले जनाएको छ ।  यार्सा संकलन गर्ने समय अघि नै लुकिछिपी पाटन नछिर्न निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया