कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ र वडा नं ९ जोड्ने तिलानदीको पक्की पुल बाढीले बगाएपछि समस्या भएको छ । गत वर्ष २०७९ सालको असोज १९ गते देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले भैँसीगौडाको पक्की पुल बगाएपछि अहिले उक्त ठाउँमा काठेपुल लगाइएको छ ।स्थानीयले लगाएको काठेपुलबाट जोखिमपूर्ण आउजाउ गर्न नागरिक बाध्य छन् । उक्त काठेपुलबाट यातायातका साधन समेत सञ्चालन गर्दा थप जोखिम बढिरहेको छ । निर्माण सम्पन्न भएको ६ महिना पछि आएको बाढीले पक्कीपुल बगाउँदा पुनः पुल निमार्णका लागि कुनै पनि पहल भएको छैन । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तत्काल पुनः निर्माणका लागि सम्बन्धित निकायमा खबर गरे पनि अहिलेसम्म उक्त पुल बनाउने वा नबनाउने भन्ने बारे यकिन छैन ।
कर्णाली राजमार्गसँग तिलागुफा नगरपालिका वडा नं ९, १० र ११ लाई जोड्नका लागि भैँसीगौडामा पक्की पुल निर्माण भए पनि राम्रोसँग सञ्चालनमा आउन नपाउँदै बाढीले बगाएकोप्रति चिल्खायाका नागरिक निकै दुःखी छन् । वडा नं ९ का वडा अध्यक्ष नरेन्द्रबहादुर रोकायाले पक्की पुल बन्यो भनेर खुसी भएका नागरिक पुल बगाएसँगै निराश भएको बताउनुभयो ।तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले प्राविधिक अध्ययन समेत गलत भएका कारणले पक्की पुल बगेको बताउनुभयो ।निर्माण व्यवसायी तारा शाहले पुल निर्माण भएको एक वर्षसम्म पनि कार्यालयले बुज्न नमानेका कारणले बाढीले पुल बगाउँदा भुक्तानी रोकिएको गुनासो गर्नुभयो ।
पुलको भुक्तानी दिँदै आएको भौतिक पूर्वाधार कार्यालय, कालीकोटका अनुसार पुलको केही भाग निर्माण हुन बाँकी भएकाले केही रकम भुक्तानी हुन बाँकी छ पुलको केही काम बाँकी थियो, सक्नुहोस् भनेर भनेका थियौँ । निर्माण व्यवसायीले सक्नुभएन, त्यही बेला बाढीले पुल बगाएकाले अब भुक्तानी प्रक्रिया के हुने भन्ने बारेमा अहिले केही भन्न नसकिने कार्यालयका प्राविधिक लक्ष्मणप्रसाद पाण्डेले बताउनुभयो । उहाँले पुल पुनः निर्माण हुने विषयमा जानकारी नभएको बताउनुभयो ।
हाम्रो पहुँच संवाददाता । ५ बैशाख २०८०, मंगलवार