काठमाडौँ । रौतहटको गढीमाइ नगरपालिकामा सडक सम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
गोली लागेर गढीमाइ नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए । अरु चार जना घाइतेको उपचार भइरहेको छ ।
गढीमाई नगरपालिका–८ धोबिनियामा बाटो बनाउने क्रममा जग्गासम्बन्धी विवादमा स्थानीय रामइश्वर राय र राजकुमार यादव पक्षबीच झडप भएको थियो । विवाद बढेपछि राजकुमार पक्षधरले ढुंगामुढा गरेको स्थानीयहरूले बताएका छन् । त्यसपछि राम इश्वर पक्षले गोली चलाएको स्थानीयको आरोप छ । प्रहरीले गोली चलाउनेको पहिचान खुलाउन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । यादवको टाउकोमा गोली लागेको थियो ।
झडपका क्रममा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । घटनास्थल पुगेका इलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले घघनामा संलग्नको खोजी कार्य भइरहेको बताए ।
प्रहरीले घटनामा संलग्न स्थानीय श्याम यादव, राम प्रताप यादवसहितका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ भने एक थान भरुवा बन्दुकसमेत बरामद गरेको घटनास्थल पुगेका एसपी बुढामगरले बताए ।
घटनामा संलग्न भएको आशंकामा १० जना व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र सीमा क्षेत्रमा कडाइ गरेको प्रजिअ मिश्रले इकान्तिपुरसित भने । साथै घटनामा संलग्नहरूमाथि अनुसन्धान जारी रहेको र दोषीमाथि जतिसक्दो छिट्टै कानुनी दायरामा ल्याएर कारबाही गर्ने पनि मिश्रले बताएका छन् । घटनास्थलमा अहिले प्रहरी टोली खटिनुका साथै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
हाम्रो पहुँच संवाददाता । २ बैशाख २०८०, शनिबार