प्रदेश रङ्गशाला : बीमा बापतको रकम तोकिएको भन्दा ६० लाख बढी भुक्तानी

प्रदेश रङ्गशाला : बीमा बापतको रकम तोकिएको भन्दा ६० लाख बढी भुक्तानीसुर्खेत । कर्णाली प्रदेश गौरवको आयोजना रङ्गशालामा बीमा बापत तोकिएको भन्दा ६० लाख ७४ हजार रुपैयाँ बढी भुक्तानी भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भेरिएसन तथा मूल्य समायोजन दिनु नपर्ने लमसम सम्झौतामा विओक्युमा आइटम निर्धारण गरी बीमा बापत २० लाख भुक्तानी गर्नुपर्ने थियो । तर, ८० लाख ७४ हजार भुक्तानी गरेको देखिएको छ । महालेखाले ६० लाख ७४ हजार रुपैयाँ असुल गर्नुपर्ने उल्लेख गरेको छ ।यो रङ्गशाला निर्माण गर्न इन्जिनियरिङ, खरिद र निर्माण (ई.पी.सी) विधिबाट भइरहेको छ । एमएसी–जिएसएल कम्पनीले १ अर्ब ५९ करोड ४७ लाख ४८ हजारमा कार्य सम्पन्न गर्ने गरी ०७८, मंसिर २८ मा सम्झौता भएको छ । हालसम्म २९ करोड ८४ लाख १२ हजार खर्च भइसकेको छ । झन्डै ३५ प्रतिशतको हाराहारीमा काम सम्पन्न भइसकेको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।१० औँ राष्ट्रिय खेलकुद आयोजनाको मिति तय भएसँगै वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालाको काम धमाधम भइरहेको छ । ०८१ जेठ ११ गतेभित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।

१० हजार दर्शक अट्ने क्षमता छ । जसमा भलिबल, बास्केटबल लगायतका कोर्टका साथै मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचना निर्माण भइरहेका छन् ।

तपाईको प्रतिक्रिया