कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियाेगिता रूकुममा हुदै


रुकुम पश्चिम । रुकुम पश्चिममा कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा आगामी वैशाख १८ गते देखि वैशाख २४ गतेसम्म जिल्ला सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा रुकुम कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

यस प्रतियोगिताको विजेताले नगद ५ लाख र कप पुरस्कार पाउने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजबिक्रम विएमले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उप विजेताले नगद २ लाख ५० हजार नगदका साथमा कप पाउने छ ।

त्यस्तै, सेमिफाइनलमा पुग्ने २ टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । सेमिफाइनल पुग्ने दुई टिमले समान १÷१ लाख नगद र कप पुरस्कार पाउने अध्यक्ष विएमले बताए । त्यस्तै व्यक्तिगत इभेन्टमा पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

वेष्ट प्लेयर, वेष्ट डिफेन्डर, वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट ब्लकर, इमर्जिङ प्लेयर, वेष्ट सर्भर र वेष्ट कोच छनोट गरी पुरस्कृत गरिने छ । वेष्ट प्लेयरलाई १० र अन्यलाई समान ५÷५ हजारले पुरस्कृत गरिने आयोजकको भनाई छ । सबै पुरस्कारमा २५ प्रतिशत कर कट्टी हुने छ ।
पुरस्कार र व्यवस्थापनका हिशावले यो कर्णाली प्रदेशकै अहिलेसम्मको सर्वाधिक ठूलो प्रतियोगिता भएको अध्यक्ष विएमले बताए ।

तपाईको प्रतिक्रिया