जाजरकाेट । गत फागुन २० गते भेरी नगरपालिका-७ का २६ वर्षीय नेप्लाइज विश्वकर्माका मनमा छटपटी थियो। उनले यस्ता कयौं छटपटी, धैर्य र सास्ती खेपिसकेका थिए। लोक सेवा आयोगको तयारी थालेको ८ वर्ष यता उनले कयौंपटक ‘मुखैमा’ आएको जागिर गुमाउनुपर्यो।
तर, जसरी पनि लोक सेवामा नाम निकाल्ने अठोटका साथ अविचलित पढिरहेका नेप्लाइजको जीवनमा फागुन २० गते खुशीको घाम उदायो। सपनाको एउटा गुराँस फक्रियो। लोक सेवा आयोगको बुटवल कार्यालयको सिफारिस सूचीमा उनको नाम दोस्रो नम्बरमै देखियो। नेप्लाइजले सन्तोषको स्वास फेरे।
‘लामो प्रतीक्षापछि प्राप्त सफलतामा खुशी नहुने कुरै भएन’, उनी भन्छन्।
नतिजा आउने दिन भएको हुनाले त्यो दिन नेप्लाइज छटपटिएका थिए। तर, उनलाई यसपटक जसरी पनि सिफारिस हुन्छु भन्ने लागेको बताउँछन्। यद्यपि, सामान्य प्रशासन वा न्याय सेवामध्ये कुनमा सिफारिस होइएला भन्ने चाहिँ लागिरेहको थियो। किनकी दुवै सेवातर्फ लिखितमा उनले खुलातर्फ नाम निकालेका थिए। उनी न्याय समूहतर्फ पोस्टिङ भए। हाल प्युठान जिल्ला अदालतमा कार्यरत उनी लोक सेवा पढ्नेहरूका लागि धैर्य र प्रेरणाको उदाहरण बनेका छन्।
१८ वटा परीक्षापछि मिलेको सफलता
नेप्लाइज २०७२ साउन १३ गते लोक सेवा आयोगको तयारीका लागि जाजरकोटबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत झरे। जिल्लामा लोक सेवाको तयारी गराउने शैक्षिक केन्द्र नभएपछि उनी सुर्खेत झर्नुपरेको थियो।
नेप्लाइजका अनुसार उनले हालसम्म लोक सेवाका विभिन्न परीक्षाका लागि २१ पटक परीक्षा फारम भरेका थिए। तर, १८ वटा परीक्षामा मात्र सहभागी हुन पाए। त्यसमध्ये एउटा परीक्षामा प्रिटेस्ट पास भएनन्। १७ वटा परीक्षामा प्रिटेस्ट पास गरेका उनी ८ वटामा लिखित पास भए।
२०७४/०७५ को खरिदार परीक्षामा लिखित पास गरेपनि उनी सिफारिस भएनन्। उनको नाम सिपारिस सूचीको वैकल्पिकतमा पर्यो। त्यसअघि ९ वटा परीक्षामा लिखितमा ‘फेल’ भएका उनले बल्ल बल्ल लिखित चरण पार गर्दा पनि सिफारिस हुन नपाएको दु:ख लाग्नु त स्वाभाविक नै भइहाल्यो। तर, उनले हरेश खाएनन्। निरन्तर पढाईमा लागिररहे।
उनी २०७५/०७६ मा नायब सुब्बामा पनि वैकल्पिकमा परे। २०७६ मा सुर्खेतबाट स्थानीय तह पाँचौं तहको अस्थायी सूचीमा परे। २०७६/०७७ उनी फेरि खरिदारमा वैकल्पिकमा परे। २०७७/०७८ मा नायब सुब्बा वैकल्पिक, २०७९ मा कर्णाली प्रदेश चौंथो तह वैकल्पिकमा परे। २०७७/०७८ को कार्यक्रम अन्तर्गत नायब सुब्बाको सामान्य प्रशासन र नायब सुब्बाको लिखित परीक्षा उत्तीर्ण गरेका उनी अन्तत: फागुन २० गते लोक सेवा आयोगको बुटवल कार्यालयको सिफारिस सूचीमा न्याय सेवातर्फ खुला दुई नम्बरमै सिफारिस भए। मिहिनेतले सफलता पाउँदा खुशीको बेग्लै क्षण हुने उनी बताउँछन्।
ज्योतिषीले भनेका थिए- पास हुँदैनस्
पटक–पटक वैकल्पिक सूचीमा परिरहन थालेपछि उनी एकदिन ज्योतिषीकहाँ पनि पुगे। तर, ज्योतिषीको कुरा उनलाई ऊर्जा थप्ने खालको थिएन। ज्योतिषीले ‘सरकारी सेवामा भाग्य छैन, पास हुँदैनस्’ भन्दिए।
तर, नेप्लाइजले मिहिनेत गर्न छाडेनन्। एकदिन जरुर सरकारी जागिर गर्छु भन्ने उठोटले उनमा आउन खोज्ने हतास र निराशालाई ‘प्रिटेस्ट पास’ हुनै दिएनन्। अहिले उनी ज्योतिषीलाई ‘भ्रम’ ठान्छन्।
पटक–पटक वैकल्पिकमा पर्दा आफूमा के कमजोरी छ, कहाँनेर चुकेँ भनेर केलाउँथे, उनी।
‘कमजोर पक्षहरूलाई खोज्थेँ। कमजोर पक्षलाई सुधार गर्न कोसिस गर्थेँ’, नेपाल लाइभसँग उनले भने, ‘मैले असफल हुँदा बिचमै छाडेको भए, आज यो स्थानमा आउने थिइनँ होला। धैर्य नै ठूलो कुरा रहेछ भन्ने लाग्छ।’
उनी जीवनमा संघर्ष र धैर्यता दुवै महत्त्वपूर्ण मान्छन्। सफल हुनका लागि संघर्ष सँगसँगै धैर्यता पनि उत्तिकै अपरिहार्य रहेको उनको अनुभव छ।
बहिनी र श्रीमती पनि लोक सेवा पढ्दै
नेप्लाइज उनको बाआमाको एक्लो छोरा हुन् । उनका एक दिदी र तीन बहिनी छन्। बाआमा सामान्य खेतिकिसानी र ज्याला मजदुरी गर्छन्। यसरी नै उनीहरूले आफ्ना सन्तानलाई लेखपढ गराए। नेप्लाइजलाई लोक सेवा पढाए।
अहिले नेप्लाइजका बहिनी र श्रीमतीले पनि लोक सेवा पढिरहेका छन्। पढाइका लागि उनैले प्रेरित गरिरहेका छन्। नेप्लाइजका एक छोरी र एक छोरा छन्। साना सन्तान हुर्काउँदै उनकी श्रीमतीले पढाइमा समय दिइरहेकी छन्। नेप्लाइज आफैंलाई पनि अब छिट्टै प्रशासन सेवाको अधिकृत हुन मन छ। त्यसपछि जति सकिन्छ निमाजती सेवाको उपल्लो तहमा पुग्ने सपना संगालेका छन्।
‘सिफारिस भएपछि अलि खुला महसुस भएको छ। यसअघि पढाइ बाहेक अन्यत्र ध्यान दिइन्ँ। बन्द कोठामा पढिरहँदा बाहिरी वातावरणसँग खासै ध्यान थिएन’, उनी भन्छन्, ‘अहिले साँच्चै खुला र स्वतन्त्र महसुस भएको छ। अब यसपछिको अध्ययनलाई पनि सहज हुन्छ होला। टेक्ने एउटा आधार बनेको छ।’
नेपाललाइभ बाट साभार गरिएकाे ।
हाम्रो पहुँच संवाददाता । २५ चैत्र २०७९, शनिबार