जाजरकोट । भेरी नगरपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ ।
चालु आर्थिक वर्षको बजेट बाट पचास प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले नगरपालिकाले किसानलाई हाते ट्याक्टर प्रदान गरेको हो । नगरपालिकाको कृषि शाखाले यहाँका २१ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको कृषि शाखा प्रमुख यज्ञ अधिकारीले जानकारी दिए । ‘चालु आर्थिक बर्षको सर्शत र निर्शत अनुदान तर्फको स्वीकृत बजेट मार्फत खरिद गरिएको छ’ प्रमुख अधिकारीले भने, ‘५० प्रतिशत अनुदान, शतप्रतिशत ढुवानी सहयोग गरी हाते ट्याक्टर हस्तान्तरण गरेका छौं ।’
हाते ट्याक्टर संगै तीन वटा कम्बाईन मिल, ईलेक्टोनिक कर्ण सेलर १ वटा, बताउने पंखा ६ वटा, ब्रस कटर १ वटा, हिल्याउने चक्का १ वटा गरी जम्मा ३३ वटा कृषि औजार सामग्री वितरण गरिएको शाखा प्रमुख अधिकारीले बताए ।
किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर दिइएको नगरप्रमुख चन्दप्रकाश घर्तीले बताए । “गाउँका युवा विदेशीएका छन् । काम गर्ने मान्छे खोज्दा पाइँदैैन । गोरु पाल्न छाडेका छन्”, उनले भने, “खेतीलाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका छौं । यसले कम समय लाग्छ । खर्च पनि कम हुन्छ ।”
कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै उनले यसका लागि किसानलाई सहयोग गरिएको बताए । “परम्परागत रुपमा खेती गर्दा आम्दानी भन्दा लागत बढी पर्न गएको छ । कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ”, उनले भने, “किसानको समस्या बुझेर कृषिमा यान्त्रीकरण गर्नतर्फ लागेका छौँ ।’
कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्रको विकासका लागि किसानका मागका आधारमा कृषि औंजार वितरण गरिएको नगरप्रमुख घर्तीले बताए । कृषि उत्पादन बढाउन र लागत घटाउन गत वर्षदेखि नै किसानलाई कृषि सामग्री वितरण थालिएको र यसबाट किसानले फाइदा उठाउने उनले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले अनुदानको सही सदुपयोग गरी उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् । भेरी नगरपालिकालाई कृषिको हव क्षेत्र बनाउन समेत दावी गरे । कृषि औजार पाएपछि किसान निकै खुशी भएका छन् ।
हाम्रो पहुँच संवाददाता । २० चैत्र २०७९, सोमबार