जाजरकोट । ‘राजैका दरबार लिन्या छेडागाडका माछा
रात दिन बाडुल्की ल्याउन्या मेरा माया काँछ ?’
छेडाखोलाका माछाबारे यस्ता स्थानीय गीत धेरै छन् । गीत मात्रै हैन छेडागाड (खोला) वरपरका कुशे, शिवालय गाउँपालिका र छेडागाड नगरपालिका दर्जनौं बस्ती छेडाखोला र छेडाखोलाका शाखा खोलाकै माछामा निर्भर छन् । छेडागाड नगरपालिका यहाँको असला माछालाई आधुनिक प्रविधिबाट सुकुटी बनाएर ब्रान्डेङ गरी बजार लैजाने तयारीमा छ ।
हालसम्म परम्परागत रूपले आगोमा सुकाएर र डढाएर देशका विभिन्न सहरमा पु¥याइने गरिएको भए पनि अब व्यवस्थित र आधुनिक प्रविधिको प्रयोग गरी सुकाएर लेभलसहित प्याकेजिङ गरी बजारमा पठाउने निर्णय नगरपालिकाले गरेको हो । ‘माछालाई एकनासले सुकुटी बनाउन स्थानीय समूहलाई उपकरण अनुदानमा दिँदै छौं,’ नगर प्रमुख रत्नबहादुर खड्काले भने, ‘सुकुटी माछालाई खाद्य तथा गुणस्तर विभागको अनुमति लिएर ब्रान्ड दिएर नै बजार पठाउने निर्णय गरेका छौं ।’ छेडाखोलामा मिसिने तत्कालीन पैंकसहित अर्छानी, ढिमे, कार्की गाउँ, साल्मा, दशेरा र सीमा गाविसका विभिन्न खोलानालामा माछा पस्ने स्रोत छेडागाड नै हो ।
कर्णालीमा मिसिने भेरी नदीको अन्तिम ठूलो शाखा छेडागाड नै हो । डोल्पा–जाजरकोट सडकखण्डको छेडा बजारदेखि कुशेको घरंगाबजारसम्म करिब एक दर्जन साना–ठूला व्यापारिक केन्द्र छन् । यी बजारमा पुग्ने धेरैको पनि बसुन्जेल खाने र घर फर्कंदा कोसेली लैजाने माछाकै सुकुटी हो । छेडागाड बजारदेखि मोर्क, वालुवा, मनघाट, थलह, मीलबजार, मटेला, बाटुले, घरंगासमेतका बजारमा पुसदेखि वैशाख महिनासम्म मुख्य व्यापार भनेकै सुकुटी माछा हो ।
अहिले स्थानीय बजारमा ताजा माछा ७ सय र सुकुटी माछा प्रतिकेजी ३ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । ‘कुनै बेला तत्कालिन जाजरकोटको दरबारमा मात्रै हैन काठमाडौंको दरवारमासमेत छेडाखोलाको माछा नियमित पु¥याउनुपर्थ्यो,’ जाजरकोटका तालुकदार मुखियासमेत रहेका योगशमशेर शाहले भने, ‘अब ती माछालाई ब्रान्ड बनाएर बजारमा पु¥याउने मात्रै हैन, असलाका प्रजाति जोगाउन हामीले विभिन्न योजना पनि अघि सारेका छौं ।
छेडागाड–५ सिल्पयाका ४० वर्षीय कर्णबहादुर रोकायको दिनचर्या माछाकै सिकारमा बित्ने गरेको छ । २०५५ सालदेखि उनी माछाकै व्यापारमा छन् । रोकाय हरेक अपराह्न ३ बजे छेडाखोलामा माछा मार्न पासो हाल्न जान्छन् । करिब ३ घण्टाको समयमा विभिन्न स्थानमा ६० वटा जति पासो थाप्छन् । सहर, वामलगायत प्रजातिका ठूला माछालाई बल्छी पनि थाप्ने गर्छन् । बिहानै ४ बजे उठेर पासो निकाल्न जान्छन् । माछा बेचेर हरेक दिन उनको कमाइ सरदर ५ हजार रुपैयाँजति हुन्छ । उनले ३५ वटा बाख्रासमेत पालेका छन् । उनी बाख्रा चराउँदै चराउँदै साँझका लागि पासा तयार गर्छन् ।
माछा बेचेरै रोकायले ४ छोरी र एक छोरासहित शिक्षादीक्षा र परिवारको लालनपालन धानेका छन् । माछा बेचेरै परिवार खर्च धानेर उनी बर्सेनि ३ लाखसम्म कमाउँछन् ।
कान्तिपुर
हाम्रो पहुँच संवाददाता । १३ चैत्र २०७९, सोमबार