जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा करिव आधा दर्जन मेडिकल ( औषधी) पसलहरु छन् । तीमध्ये आधा अवैध छन् । अर्थात उनीहरु सँग मेडिकल राख्न पाउने अनुमति पत्र छैन् । छेडागाड नगरपालिकामा पनि दर्जन मेडिकल पसलहरुमध्ये अधिकांश अवैध छन् । अवैध रुपमा राखिएका मेडिकल प्रति राज्यको ध्यान पुगेको छैन् ।
मेडिकल ( औषधी ) पसल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधी व्यवस्था विभाग बाट स्वीकृत लिएको हुनुपर्ने कानुनी व्यवस्था छ । तर यहाँका गाउँ —गाउँमा भने अधिकांश औषधी पसलहरु अवैध रुपमा सञ्चालन छन् । उनीहरुले कानुनी प्रक्रिया समेत पुरा गरेका छैनन् ।
ती मेडिकलहरुले मानव स्वास्थ्य प्रति चरम लाप्रवाही गरिरहेका छन् । स्वास्थ्य सम्बन्धी समान्य तालिम लिएका भरमा अधिकांश मेडिकलहरु सञ्चालनमा रहेको देख्न सकिन्छ ।
अवैध रुपमा सञ्चालन भएका मेडिकल तथा औषधी पसलहरु बन्द गराउने सन्दर्भमा भने नियमनकारी निकायहरुको चासो देखिदैन् । अवैध रुपमा खोलिएका मेडिकलहरुले साईन बोर्ड समेत राखेका छैनन् । सरकारी स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्यकर्मी र औषधी नहुँदा धेरै जसो विरामीहरु निजी क्लिनिकमा ध्याईरहेका छन् । सरकारी स्वास्थ्य संस्थाको औषधी र निजी औषधी पसलको औषधीमा खासै फरक छैन् ।
निजी मेडिकलहरुले सुरुमै हाइडोजको औषधी चलाउँदा निजी मेडिकलहरुमा ध्याउने विरामीहरुको संख्या बढीरहेको छ । निजी मेडिकलहरुले विरामीहरुको स्वास्थ्य अवस्था नै नबुझी सुरुमै कडा खालको औषधी प्रयोग गर्ने गरेको एक स्वास्थ्यकर्मीले बताए । उनले भने, ‘चिकित्सकको अनुमति विना कडा खालका एन्टिवायोटिक औषधी विक्री गर्न मिल्दैन् तर जाजरकोटका मेडिकलवालाहरुले आफै विरामी चेक गर्ने र मनोमानी तरिकाले औषधी दिने गरेका छन् ।”
धेरै जसो मेडिकलवालाहरुले अहेव कोर्ष पढेका छन् । उनीहरुले विरामीको स्वास्थ्य परिक्षण नै गर्न मिल्दैन् । फार्मेसी पढेकाले औषधी बेच्न मिल्छ तर विरामीको स्वास्थ्य चेकजाँच गर्न भने नमिल्ने एक चिकित्सकले बताए । निजी स्वास्थ्य क्लिनिकहरुले नागरिकहरुको आर्थिक शोषण गरिरहेका छन् भने स्वास्थ्यमा समेत खेलगाड गर्ने गरेको पाईन्छ । पैसा कमाउने लोभले हाईडोज औषधी दिएर मानिसको स्वास्थ्य विगार्ने काम गरेपनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन् ।
जाजरकोटवासी स्वास्थ्य सेवा र पहुँचको हिसावले निकै पछि छ । तीन वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको यस जिल्लामा एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ वटा स्वास्थ्य केन्द्र छन् । झण्डै ८० प्रतिशत भूभागका बासिन्दा पैदल हिड्नुको विकल्प छैन् । गाउँमा भएका स्वास्थ्य चौकीहरुमा कहिले औषधी हुदैन् त कहिले डाक्टर हुदैनन् । सरकारले दिने भनेको ९८ प्रकारका निःशुल्क औषधीहरुमा झण्डै ३० प्रकारका औषधी पाउन मुस्किल छ । त्यसैले जाजरकोटबासीहरु निजी औषधी पसलहरुमा गई उपचार गर्न बाध्य छन् । नागरिकको स्वास्थ्यमाथि खेलवाडा गरिरहेका औषधी पसलहरुको अनुगमन गर्ने तर्फ यहाँका स्थानीय तहहरुको ध्यान पुगेको छैन् । प्रशासन र स्थानीय तहहरु मौन देखिन्छन् ।
साइनबोर्डमा चिकित्सक, उपचार गर्ने अहेव !
जिल्लामा सञ्चालित अधिकांश मेडिकलहरुको प्रचारमा विशेषज्ञ डाक्टरहरु बाट उपचार गरिन्छ भन्ने देखिन्छ । तर ती मेडिकल ( औषधी) पसलमहरुमा कतै पनि विशेषज्ञ डाक्टर देखिदैन् । भिडियो एक्सरे सेवासहित आकस्मिक कक्षमा बिरामीको उपचार गरिन्छ भनेर ब्यापक प्रचार हुन्छ । तर त्यहाँ उपचार गर्ने अहेव हुन्छन् ।
साइनबोर्डमा विशेषज्ञ डाक्टरको नाम वेचेर पारामेडिक्सले उपचार गर्ने गरेर यहाँको निजी क्षेत्रको स्वास्थ्य सेवा यसरी नै चलेको छ ।
‘सरकारी स्वास्थ्यचौकी टाढा हुँदा मेडिकलबाट उपचार लिइरहेका छौं,’ एक स्थानीयले भने्, ‘यहाँ त डाक्टरको नाम भजाएर अरूले उपचार गर्ने प्रवृत्ति बढ्न थाल्यो ।’
विशेषज्ञ डाक्टहरुको नाम बेचेर बोर्ड राखेर व्यवसाय चलाउँदै जनस्वास्थ्यमाथि खेलबाड भईरहेको छ । स्थानीय सरकार र प्रशासनले चासो नदिँदा मेडिकलहरूको मनपरी चलिरहेको उनीहरु बताउँछन् । सबै बिरामीलाई सरकारी स्वास्थ्य संस्थामा उपचार गर्न आकर्षण गर्ने काम भएको छ्रैन् ।
निजी स्वास्थ्य संस्थाले मनपरी ढंगबाट औषधी दिने र अन्तिम अवस्थामा मात्रै सरकारी अस्पतालमा आउने बिरामीको संख्या बढ्दै गएको छ ।
निजी मेडिकलमा डाक्टरबिना नै चिकित्सकीय सेवा प्रवाहको प्रचार हुनु बिरामीको स्वास्थ्यमाथिको खेलवाड हो ।
हाम्रो पहुँच संवाददाता । १० चैत्र २०७९, शुक्रबार