काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको दिने तय भएको छ । त्यसको अघिल्लो दिन आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
१० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दा रास्वपाले पनि समर्थन गरेको थियो । ११ पुसमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भए भने ३ माघमा रास्वपाका डोलप्रसाद अर्याल श्रम र शिशिर ढकाल शिक्षामन्त्री तथा तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री भए ।
तर १३ माघमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि उनको मन्त्री पद गयो । लगतै नेपाली नागरिकता लिएका लामिछानेले गृह मन्त्रालयमा फर्किन चाहेका थिए, तर प्रचण्ड सहमत नभएपछि रास्वपाले २२ माघमा सरकार नै छाड्यो । समर्थन भने फिर्ता लिएको थिएन ।
२५ फागुनको राष्ट्रपति चुनावमा १० दलको गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई साथ दिएको रास्वपाले अब प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
हाम्रो पहुँच संवाददाता । ५ चैत्र २०७९, आईतवार