स्थलगत अनुगमनपछि सडक निर्माण कार्य सुचारु

blog

हुम्ला । गाउँपालिका अध्यक्षको टोली स्थलगत रूपमा अनुगमनमा गएपछि रोकिएको सडकको निर्माण कार्य सुचारु भएको छ । सडक निर्माण गर्ने स्थानमा ठूलो चट्टान देखिएको भन्दै निर्माण कार्य रोकेको निर्माण कम्पनी पक्षले दुई पक्षबीच समझदारी हुँदा निर्माण कार्य अगाडि बढाएको हो ।सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सिमकोट बरगाउँ, ठेहे र ग्याग्रुसम्मको सडक निर्माण कार्य रोकिएको निर्माण स्थलमा दुई पक्षबीच कुरा मिलेपछि काम सुचारु भएको बताउनुभयो । उहाँले सडक निर्माण स्थलमा देखिएको चट्टानलाई खनेर फाल्ने वा त्यसो नभए विस्फोटन गर्ने काम गाउँपालिकाले गरेपछि निर्माण कम्पनी पक्ष काम सुचारु गर्न सहमत भएको बताउनुभयो ।

निर्माण स्थलमा गाउँपालिका र निर्माण कम्पनीबीच रोकिएको सडक निर्माण कार्यको सुचारु गर्ने सहमति भएपछि काम सुचारु भएको छ । सो क्षेत्रमा यसअघि नै सडकको ट्र्याक खुलाउने कार्य भएको थियो । सडकको ट्र्याक खुलाएको क्षेत्रमा यातायातका साधन सञ्चालनमा आएपछि सिमकोट आउनेक्रममा यात्रु तथा सामानहरू अनलोड गर्नुपर्ने अवस्था थियो ।खुलाएको सडक निर्माण स्थलको ग्रेड नमिलेपछि सो सडकको ठेहे ग्याग्रु खण्डमा पुनः लेवल मिलाउने काम सुरु गरेको थियो । सडक निर्माण गरिरहेको बेला ठूला चट्टान देखिएपछि निर्माण कम्पनी पक्षले काम रोकेको थियो । पछि गाउँपालिका र निर्माण कम्पनी पक्षबीच जसरी पनि उक्त चट्टान फुटाउने र विस्फोट गर्ने सहमति भएपछि काम सुचारु भएको हो ।

हाल रोकिएको खण्डको काम धमाधम भइरहेको छ । गाउँपालिकाले गत पुस महिनामा टेण्डर आव्हान गरेर हिमालय कन्स्ट्रक्सन छनौट गरी सम्झौता गरेको थियो । यसका लागि गाउँपालिकाले निर्माण कम्पनी पक्षसँग एक करोड रुपियाँमा सम्झौता गरेको छ । निर्माण कार्य रोकिएपछि गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष सुशीला रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया र प्राविधिकसहितको टोली निर्माण स्थलमा पुगेको थियो ।

तपाईको प्रतिक्रिया