तीन महिनादेखि चार गाउँ अन्धकार

 

blog
डोल्पा । पालङ्गस्थित खातीखोला लघुजलविद्युत् केन्द्रको ट्रान्समिटर बिग्रिएपछि चार महिनादेखि त्रिपुरासुन्दरी नगरपालिकाका चार गाउँ टुकीको भरमा छन्। ८० किलोवाट क्षमताको लघुजलविद्युत् बन्द भएपछि नगरपालिकाको वडा नम्बर ५ र ६ को ल्हाँ, फुल्चिङ, खदाङ्ग र पालङ्गका ४५२ घरधुरी अँध्यारोमा बस्न बाध्य छन्।करिब पाँच करोड रुपियाँको लागतमा २०७४ सालमा निर्माण भएको खातीखोला लघुजलविद्युत् केन्द्र जेठदेखि बन्द छ। विद्युत् बन्द भएपछि दियालो बालेर बस्नु पर्दा मोबाइल चार्ज र बालबालिकालाई पढ्न समस्या भएको स्थानीय हीरा चलाउनेले बताउनुभयो। उहाँका अनुसार स्थानीय जनप्रतिनिधि र विद्युत् व्यवस्थापन समितिका पदाधिकारीको लापरबाहीका कारण चार गाउँ अन्धकार भएको छ।

इलाका प्रहरी कार्यालय खदाङ्गका वरिष्ठ हबलदार देवेन्द्र विश्वकर्माले मोबाइल चार्ज, सञ्चार सेटसमेत चार्ज गर्न नपाएर दिनभरका सुरक्षा गतिविधि जिल्लामा जाहेरी गर्नसमेत समस्या परिरहेको बताउनुभयो। जलविद्युत् व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल बोहोराका अनुसार स्थानीय सरकारले पर्याप्त बजेट नदिँदा ट्रान्समिटर मर्मत गर्न सकिएको छैन। बुटवलस्थित नेपाल स्टिल स्ट्रचर प्रालि कम्पनीमा बिग्रेका उपकरण मर्मतका लागि पठाइसकिएको तर आर्थिक अभावले ल्याउन नसकिएको अध्यक्ष बोहोराले बताउनुभयो।विद्युत् गृहनजिक रहेको ६ नं. वडा कार्यालयका अध्यक्ष देवेन्द चलाउनेले उपकरण मर्मतका लागि नगरपालिकाबाट चार लाख विनियोजन गर्न लगाइएको तर वडामा बजेट नभएकाले चाहेर पनि दिन नसकिएको बताउनुभयो।

तपाईको प्रतिक्रिया