खानेपानीमा जोड : पाँच बर्षभित्र एक घर, एक धारा पु¥याउने लक्ष्य

May be an image of 4 people and outdoors
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा एक घर, एक धारा पु¥याउने उद्देश्यका साथ काम सुरु भएको छ । सबैलाई स्वच्छ सफा पिउने पानी उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । पाँच वर्षभित्र सबैको घरमा धारा पुग्ने लक्ष्यका साथ पालिकाको वडा नम्बर १, २ र ३ बाट कामको सुरुवात गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।

विभिन्न साझेदार निकायको सहकार्यमा खानेपानीको काम सुरु गरिएको छ । वडा नम्बर १, २ र ३ मा हेल्पिटास नेपाल, गाउँपालिका र पहाडी क्षेत्र विकास अभियानको सामाजिक परिचालनमा ४३१ घरधुरीमा यो आर्थिक वर्षभित्र स्वच्छ सफा पिउने पानीको एक घर, एक धारा निर्माण गर्न लागिएको छ । खारी, बयाल, बुढागाउँ, सिल्पाचौर, तलिआग्र, लिम्सामा काम हुनेछ । दुई करोड २९ लाख ५९ हजार २७८ रुपैयाँमा उक्त खानेपानी योजना सञ्चालनमा छ ।

त्यस्तै बारेकोट–२ का ध्यारगाउँ, गैरागाउँ, कुनाउटा, रोकायगाउँका १२८ घरधुरीलाई ८० लाखको लागतमा एक घर, एक धारा निर्माण कार्य जारी छ । वषौँदेखि खानेपानीको अभावमा समस्या भोग्दै आएका यहाँका सर्वसाधारण घरको आँगनमै धारामा पानी आउने भएपछि खुसी भएको बारेकोट–२ का पदम रोकायले बताए । खुल्ला खोलाको पानी पिउँदै आएका यहाँका सर्वसाधारणलाई शुद्ध र सफा पानी घरमै पाउने भएपछि आफूहरू खुसी भएको तलिआग्रका रामबहादुर गिरीले बताए ।

विकास साझेदार निकायको सक्रियतामा पाँच वर्षभित्र पूरै गाउँपालिकाभरि स्वच्छ सफा पानी घर घरमा पुग्ने लक्ष्यलाई सार्थक बनाउने अध्यक्ष गिरीले बताए । गाउँपालिकाको सहकार्यमा सबै वडामा खानेपानी पु¥याउनका लागि आफूहरू लागिपरेको परिचालनको क्षेत्रमा काम गरिरहेको पहाडी क्षेत्र विकास अभियानका प्रदिप जंग शाहले बताए । त्यस्तै गाउँपालिकाले जलउपयोग योजना निर्माण गरिरहेको अध्यक्ष गिरीले बताए ।

जनसंख्या वृद्धि, पानीको बहुउपयोग, स्रोतको अभाव, जलवायु परिवर्तनलगायत कारणले सीमित पानीको स्रोतले मानिसको असीमित आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था रहेकोले गुरुयोजना निर्माण गर्न लागिएको हो । धेरै कामका लागि उपयोग गर्न सकिने पानीलाई आवश्यकताको आधारमा प्राथमिकता निर्धारण गरेर कहाँको पानीलाई कसरी उपयोग गर्ने भन्ने विषयमा बृहत योजना बनाएर कार्यान्वयन गर्दै लैजान सकेमा पानीको सही सदुपयोग हुने मात्र होइन, पानीसँग सम्बन्धित विवाद उत्पन्न हुने सम्भावना पनि कम गराउँछ भन्ने उद्देश्यका साथ योजना निर्माण गर्न लागिएको अध्यक्ष गिरीले बताए ।

May be an image of 1 person and outdoors
जल उपयोग गुरुयोजना भनेको जलस्रोतको एकीकृत विकासका लागि स्थानीय समुदायले सहभागितामूलक र समावेशी पद्धति अपनाएर जलस्रोतको योजना तर्जुमा र व्यवस्थापन गर्ने प्रक्रिया हो । यो प्रक्रियाले गाउँपालिका नेतृत्वमा गाउँपालिका भित्र भएका र प्रयोग हुनसक्ने सम्भावित पानीका स्रोतको लेखाजोखा गरिन्छ । ती पानीका मूलहरू अहिले के प्रयोजनका लागि प्रयोग भइरहेका छन् ? आगामी दिनमा ती पानीको मुहानलाई के काममा प्रयोग गर्न सकिन्छ ?

यसको पनि समुदायकै सहभागितामा लेखाजोखा गरिने भएकाले बारेकोट गाउँपालिकाभित्र यसको सबै अध्ययन हुने अध्यक्ष गिरीले बताए । स्थानीयस्तरमा जलस्रोतको प्रभावकारी तथा न्यायोचित ढंगले पानीको उपयोग गर्न एकीकृत योजनाको विकास गर्नु नै यसको उद्देश्य छ । पानीको सही उपयोग र न्यायोचित बाँडफाँट र दिगो प्रयोगको सुनिश्चित हुने गर्दछ । जल उपयोग गुरुयोजना तयार भएपछि गाउँपालिको नेतृत्व लिएर सरकारी तथा गैरसरकारी निकायको समन्वयमा पानीसम्बन्धी विभिन्न आयोजनाको कार्यान्वयन गर्न थप सहज हुने गर्दछ ।

तपाईको प्रतिक्रिया