जाजरकाेट । जाजरकोट र जुम्ला जोडने सुरुङ मार्ग निर्माणको गर्न डीपीआर गर्ने बजेट रोक्का हुँदा काम अगाडि बढ्न सकेको छैन । जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी सुरुङमार्गमार्फत् सडक जोडेर छाटो बाटो बनाउने उद्देश्य छ ।
सुरुङको डीपीआर गर्नका लागि कन्सल्टेन्टको माग गर्दै सार्वजानिक सूचना निकाले पनि अर्थ मन्त्रालयले रकम रोक्का गरेका कारण डीपीआरको काम गर्न सम्झौता हुनसकेको छैन । अर्थ मन्त्रालयले बजेट बिनियोजन भइसकेको अवस्थामा कामको प्रक्रियाका लागि सूचनासमेत निकालेको अवस्थामा बजेट रोकिँदा काम अगाडि बढन नसकेको हो ।
६० लाखमा उक्त डीपीआरका काम हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी इन्जिनियर सौरभ वज्राचार्यले बताए । करिब सात किलोमिटर लामो सुरुङ निर्माण गरी जाजरकोटको कुशेबाट जुम्लाको इेमिल्चाबारी लिनका लागि डीपीआरको काम सुर गर्न लागिएको हो ।
कर्णालीका जुम्ला, हुम्ला, मुगुबाट नेपालगन्ज सुर्खेत जान र आउन यही सुरुङमार्ग प्रयोग गर्दा सात घण्टा बाटो छोटो हुने गर्दछ । अहिले यहाँका सर्वसाधारण कालिकोट र दैलेखको अधिकांश भूभाग भएर सडकमार्गमार्फत् जाँदा धेरै समय लाग्ने गरेको छ । सुरुङमार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने अनुमान छ । लम्बिनी–दाङ हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबैभन्दा छोटो हुने भएकाले काम सुरु गर्न लागिएको बताइएको छ ।
त्यस्तै जाजरकोटबाट जुम्ला जोडने अन्य सडकको समेत बजेट रोकिएको छ । बजेट विनियोजन भइसकेको ठाउँमा समेत अर्थले धमाधम बजेट रोक्ने काम गर्दा रणनीतिक सडक तथा सुरुङको काममा दीर्घकालीन असरपर्ने भएको छ । सुरुङ मार्ग निर्माण गर्न मोटो रकम लाग्ने सूचना अधिकारी वज्राचार्यले बताए । साविकको कर्णाली अञ्चलसँग जोडने महत्वपूर्ण सडकको रूपमा यसलाई लिन सकिन्छ ।
आर्थिक लाभको रुपमा समेत यसलाई लिन सकिन्छ । जाजरकोटभित्रका धेरै ठूला सडकको बजेट रोक्दा निर्माणमा समेत समस्या हुँदै आएको छ । पटकपटक सरकारमा हुने फेरबदलले विकास निर्माणमासमेत भारी असर बनाएको छ । जुन क्षेत्रको मन्त्री हुन्छ, उत्तै बजेट तान्ने परम्पराले गर्दा निर्माण कार्य चालू अवस्थामा रहेका काममा बाधा पुग्दै आएको छ । #काराेबार दैनिक#
हाम्रो पहुँच संवाददाता । २६ फाल्गुन २०७९, शुक्रबार