स्थानीय सरकारद्वारा गहुँबालीमा डोजर

blog
कालीकोट । स्थानीय सरकारले स्थानीयको गहुँबालीमा डोजर चलाएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका –८ मा असार मसान्तमा बजेट सक्ने लक्ष्यसाथ गहुँवालीमा एक्स्काभेटर लगाएर फिल्ड निर्माण गर्न थालिएको हो ।

२०७८ देखि हुन नसकेको काम असार आउन तीन महिनापछि स्थानीय सरकार र उपभोक्ता समिति तातेका कारणले गहुँवालीमा डोजर चलेको स्थानीयले बताएका छन् । बजेट असार मसान्तमा नसके फिर्ता जाने भनेपछि गहुँबालीमै एक्स्काभेटर लगाएर फिल्ड निर्माण गर्न थालिएको गाउँपालिकाका प्रतिनिधिले जनाएका छन् ।

वडा –८ का अध्यक्ष लालबहादुर विष्टले वडा भवनका लागि डीपीआर गर्न दिएको र डीपीआरको भुक्तानी समयमै गर्नुपर्ने भएकाले एक जना ठेकेदारलाई भनेर फिल्ड निर्माणमा लागेको बताउनुभयो । उहाँको भनाइअनुसार फिल्ड निर्माण गर्दा भएको खर्चबाट डीपीआरको बजेट व्यवस्थापन गर्ने योजना छ ।

गाउँपालिकाका प्रवक्ता तथा वडा –९ का अध्यक्ष प्रदीप बोहोराले प्रदेश सरकारको ४० लाख बजेटबाट उपभोक्ता समितिमार्फत चार कोठाको भवन निर्माण गरिने बताउनुभयो । खासमा सरकारी खरिद नियमावलीले निःशुल्क जग्गा खरिद गर्न भनेको छ ।

लालुमा पर्याप्त जग्गा नभएकाले वडा भवनका लागि खरिद गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता बाेहोराले बताउनुभयो । केही व्यक्तिको चाहना र त्यसैमा सरकारका प्रतिनिधिको बढी चासो हुँदा विकासे काममा मनोमानी हुँदै आउनेक्रम बढेको छ ।

रास्कोट नगरपालिका वडा २ मा रहेको मोतीराम माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डवलनाथ योगी, वडा अध्यक्ष ध्रुवराज सिम्खडा र माओवादीका स्थानीय कार्यकर्ता नरध्वज खड्का मिलेर विनाकोटेशन विद्यालयको खाजा कार्यक्रम आफ्ना दाइ नाता पर्ने विद्यालयका सहयोगी इन्द्रनाथ योगीलाई दिएको स्थानीयको आरोप छ ।

तपाईको प्रतिक्रिया