जाजरकोट । जाजरकोटमा स्वास्थ्य सम्वन्धी जिल्ला स्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । भेरी नगरपालिकाको सभाहलमा दई दिन सम्म सञ्चालन भएको स्थानीय तह सँग समन्वय, समीक्षा तथा योजना कार्यशाला गोष्ठीमा स्वास्थ्यको अवस्था र आगामी दिनमा चालिने योजना वारे छलफल गरिएको थियो ।
उक्त कार्यशाला गोष्ठीमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय वाट आएका प्रशिक्षक प्रदिप अधिकारीले नतिजामुलक योजना तथा वित्तीय व्यवस्थापन, दिगो विकास लक्ष्य, सर्वव्यापी स्वास्थ्यमा पहुँच र प्राथमिकताहरु, जनस्वास्थ्यका कार्यक्रमहरुको विश्लेषण र योजना तर्जुमा विषयमा प्रशिक्षण गरेका थिए । त्यसैगरी सामाजिक विकास मन्त्रालयका अमृता ज्ञवालीले नेपालको संविधानमा विद्यमान स्वास्थ्य निती, रणनिती र मान वहादु कुँवरले बहुक्षेत्रिय पोषण कार्यक्रम र कार्यान्वयन योजना सम्वन्धी सहजीकरण गरेका थिए ।
त्यस्तै, स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले सात वटै पालिका र जिल्ला अस्पताल जाजरकोटको विगत ३ वर्षको प्रगतिको अवस्था र कमजोर सुचकहरुको प्रस्तुती गरेका थिए । जस अन्तरगत विभिन्न सुचकहरु विगतको दाँजोमा कमजोर हुदै गएकोमा सोको सुधारका लागि आवश्यक समन्वय र पहल गर्ने सल्लाह प्रदान गरिएको थियो ।
स्वास्थ्य सेवा कार्यालयमा निःशुल्क वितरणको लागि आउने औषधीको रकम १० लाख मात्र रहेकाले अप्रयाप्त हुने गरेको जनाइएको थियो । त्यस्तै, स्वास्थ्य बीमा कार्यक्रम लाई प्रभावकारी बनाउन पनि सल्लाह दिइएको थियो ।
विशेष गरि खोपका सुचकहरु घट्दोक्रममा हुनु चिन्ताको विषय भएकोमा खोप लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि आमा समुह, स्वास्थ्य स्वंसेविका लगायत सवै सँग समन्वय र सहकार्य गर्दै प्रभावकारी रुपमा सवै बालबालिकाहरु लाई खोप लगाउन नछुटाउन आग्रह गरिएको थियो ।
स्वास्थ्य संस्था प्रमुखहरुले स्वास्थ्यका लागि वजेट अप्रयाप्त हुने गरेको, स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरुलाई कार्यवोझ भएको ,अनलाइन वाट डाटा इन्ट्री गर्नको लागि दक्ष जनशक्ति र सामाग्रीको अभाव , कर्मचारीहरुको लागि दण्ड र पुरुस्कारको व्यवस्था नहुने जस्ता गुनासा राखेका थिए ।
जिल्लामा धेरै जसो औषधीपसलहरु विना दर्तानै सन्चालन रहेता पनि सम्वन्धित नियमनकारी निकायले नियमन गर्न नसकेको पाइएको छ ।जिल्ला समन्वय समितिका प्रमुख कालीवहादुर खत्री प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नलगाड नगरपालिकाका नगर प्रमुख डम्वर वहादुर रावत, भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्ती, वारेकोट गाउँपासलका अध्यक्ष बीर वहादुर गिरी, भेरी नगरपालिकाका उप प्रमुख सीता कुमारी जैशी, कुशे गाउँपाकिा उपाध्यक्ष देविका सिंह, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य साखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
हाम्रो पहुँच संवाददाता । १९ फाल्गुन २०७९, शुक्रबार