जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकामा निर्माणधीन १० शैयाको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको प्रशासकीय केन्द्रमा निर्माण कार्य सुरु गरिएको उक्त अस्पताल ९ करोड ९२ लाखमा निर्माण कार्य भइरहेको छ ।
आर्थिक वर्ष २०७९÷ ८० को असार मसान्त भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिए ।
तोकिएको समय भित्र काम सम्पन्न गर्ने उद्देश्यका साथ काम भइरहेको उनले बताए । गाउँपालिकाको मुटुमै निर्माण हुन लागेको उक्त १० शैयाको अस्पतालले यहाँका सर्वसाधारणलाई भारी मात्रामा सेवा दिने अपेक्षा लिइएको छ ।
गाउँपालिकाको वडा नम्वर ३ मा निर्माण कार्य भइरहेको अस्पतालले यस क्षेत्रका सर्वसाधारणले सामान्य उपचार गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने गाउँपालिकाकी उपाध्यक्ष गिता शाहीले आशा व्यक्त गरिन् ।
प्रत्येक वडामा समेत स्वास्थ्य संस्था निर्माण कार्य जारी राखेको शिवालय गाउँपालिकाले पालिकाको केन्द्रमा १० शैयाको अस्पताल निर्माण गरिरहेको छ । ९ वटा वडा रहेको यहाँ सडक सञ्जालले सबै वडाहरुमा जोड्ने काम समेत जारी रहेको छ । सबै वडामा सडकको पहुँच विस्तार भएसँगै अस्पताल आउन र जान समेत सहज हुने विश्वास लिएको उपाध्यक्ष शाहीले बताइन् ।
अहिले पालिकाले एम्वुलेन्स सेवा सञ्चालन गरेको छ । वडाहरुमा रहेका स्वास्थ्य संस्थाबाट सिफारिस गरिएका बिरामीलाई बाहिर लिएर उपचार गर्न समेत सहज भएको बताएको छ ।
भौतिक पूर्वाधारको कामलाइ प्राथमिकता राखेर कामलाई तिब्रता दिइएको बताएको छ ।
पश्चिम जाजरकोटको मुटु रहेको शिवालयमा आम नागरिकले महसुस गर्ने गरी सेवा प्रदान गर्ने उदेश्यले काम भइरहेको पालिकाले जनाएको छ ।
हाम्रो पहुँच संवाददाता । १८ फाल्गुन २०७९, बिहीबार