बच्चालाई के सिकाउने ?


बच्चाहरुलाई आमाबुवाको प्रतिविम्बका रुपमा लिईन्छ । सोही कारणले होला बच्चामा पनि आफ्ना अभिभावकमा भएका जस्ता गुण तथा झल्कोहरु आउँछन् । बच्चाका लागि आमाबुवा नै आदर्श हुन्छन् । त्यसैले अभिभावकले आफ्ना बच्चालाई सानैदेखि असल बनाउन राम्रा बानी सिकाउनु पर्छ । यसरी घरबाट नै सानैदेखि शिष्ट र सभ्य भाषा तथा बानी सिके भने बच्चाहरुलाई ठूलो भएपछि बाहिर पनि घुलमिल हुन र समाजमा प्रतिष्ठित हुन सजिलो हुन्छ ।

राम्रो व्यवहार र विनम्रता यस्ता गुण हुन,जसले समाजमा सम्मान दिने काम गर्छ । त्यसैले बच्चालाई सानैदेखि सबैलाई सम्मान गर्न सिकाउनुपर्छ । आफुलाई मन नपर्ने व्यक्तिसंग पनि सम्मानपूर्वक र शिष्ट भाषामा बोल्न सिकाउनुपर्छ । कृपया,धन्यवाद तथा माफ गर्नुस्,जस्ता शब्द जीवनमा जान्न जरुरी हुन्छ । यसले बच्चालाई जस्तो पनि समस्याबाट बाहिर निस्कन मद्दत गर्छ । यस्ता शब्द प्रयोग गर्ने व्यक्तिलाई समाजमा सम्मान तथा प्रशंसा मिल्छ । समय एकदमै महत्त्वपूर्ण छ । त्यसैले बच्चालाई सानैदेखि समयको सही सदुपयोग गर्न सिकाउनुपर्छ । उनीहरुलाई समयमा खान,सुत्न र पढ्ने लगायतका बानी सिकाउन सक्नुपर्छ ।

स्थास्थ्य पनि जीवनमा एकदमै महत्त्वपूर्ण हुन्छ । त्यसैले स्वस्थकर जीवन जिउन बच्चलाई समावेश गराउन सकिन्छ । राम्रो स्वस्थ खाने,शारीरिक रुपमा सक्रिय रहन सिकाउनपर्छ । त्यसका लागि विभिन्न खेलमा उनीहरुलाई समावेश गराउन सकिन्छ ।
बच्चाहरुलाई बाहिरको खाना,चिप्स,मिठाई,बिस्कुट,चकलेट आदि एकदमै मन पर्छ । तर अभिभावकले उनीहरुलाई घरको खानेकुरा पनि एकदमै मिठो हुन्छ र यसले स्वास्थ्यलाई राम्रो गर्छ भनेर सिकाउनुपर्छ । तपाईले घरमै विभिन्न पकवान बनाउन र खुवाउन पनि सक्नुहुन्छ ।

बच्चालाई सानैदेखि सामान सही ठाउँमा राख्ने र सफा राख्न सिकाउनुपर्छ । जसले गर्दा उनीहरुलाई ठूलो भएर आफ्नो काम गर्न सजिलो होस् । पैसाको सही सदुपयोग गर्न सानैदेखि सिकाउनुपर्छ । जे माग्यो त्यहीँ दिँदा उनीहरु अझै माग गर्दै जान्छन् । त्यसैले सन्तुलित मात्रामा पैसा खर्च गर्न सिकाउनुहोस् । सानै उमेरमा पैसाको महत्व बुझ्यो भने त्या बच्चाले पछि फजुल खर्च गर्दैन ।

तपाईको प्रतिक्रिया