काठमाडौँ । विश्वकै धनी व्यक्त्तीको सूचीमा इलन मस्क पुनः पहिलो स्थानमा आएका छन् । मस्कको स्वामित्वमा रहेको टेस्ला कम्पनीको सेयर मूल्य बढेसँगै उनी ब्लुमबर्गको खर्बपती सूचीमा माथि उक्लिएका हुन् । यसअघि गत डिसेम्बरयताका दुई महिना फ्रान्सेली फेसन ब्रान्ड लुई भुतनका प्रमुख कार्यकारी अधिकृत बर्नार्ड आर्नल्ट विश्वका सबैभन्दा धनी व्यक्तीका रूपमा रहेका थिए ।
ब्लुमबर्गका अनुसार सोमबारसम्म मस्कको कुल सम्पत्ती १८७.१ अर्ब डलर थियो भने आर्नल्टको कुल सम्पत्ती १८५.३ अर्ब डलर थियो । गत वर्ष टेस्लाको सेयर भाउ निरन्तर ओरालो लाग्नुका साथै विवादास्पद ट्वीटर खरिद प्रकरणले मस्कलाई धनीको सूचीमा दोस्रो स्थानमा खसालेको थियो । यो वर्ष टेस्लाको सेयर मूल्य ७० प्रतिशतले बढेपछि मस्क पुनः सर्वाधिक धनी बनेका हुन् । गत नोभेम्बर र डिसेम्बरको बीचमा टेस्लाका मालिकको कुल सम्पत्तीमा २ सय अर्ब डलरले गिरावट आएको थियो, यसलाई पछिल्लो समयको सबैभन्दा ठूलो नोक्सानीका रूपमा लिने गरिएको छ ।
गत वर्ष ४४ अर्ब डलरमा खरिद गरेको ट्वीटरले दैनिक ४० लाख डलर गुमाइरहेको मस्कले नोभेम्बरमा ट्वीटमार्फत बताएका थिए । यी सबैमाझ उनले खर्च कटौतीका लागि ट्वीटरका ३७ सय कर्मचारीलाई कम्पनीबाट निकालिदिए । हालै मात्र ट्वीटरले आठौं पटकको कर्मचारी निष्कासनमा ५० जनालाई कामबाट निकालेको थियो ।
ब्लुमबर्गको बिलिनियर्स इन्डेक्समा हाल मस्क पहिलो नम्बर, आर्नल्ट दोस्रो, जेफ बेजोस तेस्रो, बिल गेट्स चौथौ र वारेन बफेट पाँचौं स्थानमा छन् । भारतका गौतम अडानी ३२ औं स्थानमा झरेका छन् । अमेरिकी इन्भेस्टमेन्ट रिसर्च कम्पनी हिन्डेनबर्गको रिपोर्ट आउनुअघि ब्लुमबर्ग इन्डेक्समा उनी विश्वका चौथा धनी व्यक्त्ती थिए । अडानीका कम्पनीहरूको हिसाबकिताब गडबडी तथा चलखेलबाट सेयर मूल्य उचालेको सम्बन्धमा हिन्डेनबर्गले अघिल्लो महिना एउटा विस्तृत प्रतिबेदन सार्वजनिक गरेको थियो । अडानीले २०२२ मा ४० अर्ब डलरले आफ्नो सम्पत्ति बढाएका थिए ।
हाम्रो पहुँच संवाददाता । १६ फाल्गुन २०७९, मंगलवार