एक महिनादेखि अस्पतालमा औषधी अभाव,निजी किल्निक धाउँदै सेवाग्राही


जाजरकोट । जाजरकोट अस्पतालमा औषधीको अभाव भएको छ । कर्णाली प्रदेश सरकारको मातहतमा रहेका अस्पतालमा एक महिनादेखि अस्पतालमा औषधीको अभाव भएको हो ।

अस्पतालमा औषधी अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । दैनिक पुर्जी लिएर औषधी किन्न फार्मेसीमा बिरामी पुगेपनि औषधी नहुँदा बाहिरका पसलमा गएर औषधी खरिद गर्न बाध्य हुनुपरेको बिरामीले बताएका छन् ।
टेन्डर प्रक्रिया पुरा गरी वर्ष भरिलाई पुग्ने औषधि खरिद गर्नुपर्ने प्रक्रिया पुरा नगरेका कारण पनि पटक पटक अस्पतालमा औषधीको अभाव हुने गरेको फार्मेसी विभागले जनाएको छ ।

नेपाल सरकारले तोकेबमोजिम ९८ प्रकारका औषधी सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । हाल जिल्ला अस्पतालमा २०–३० प्रकारका औषधी मात्र छन् । बिमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेपेका छन् । ‘उपचारमा केही सहज होला भनेर बिमा गरियो तर अस्पतालमा औषधि पाइएन’ मेडिकलमा गएर महँगो औषधी किन्नुपरेको भेरी नगरपालिका ४ की २९ वर्षीया सरस्वती विकले बताइन् ।

प्रशासनलाई महिना दिन अघि नै औषधी सकिएको जानकारी गराएपनि अहिलेसम्म सुनुवाइ नभएको फार्मेसी विभागले जनाएको छ । सामान्यदेखि जटिल रोगका लागि चाहिने ५० प्रकारका औषधी हाल जिल्ला अस्पतालमा छैनन् । यस विषयमा अस्पताल प्रशासनलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन ।

तपाईको प्रतिक्रिया