२५ शैया बाट ५० शैयाको बन्दैछ जाजरकोट अस्पताल । नयाँ भवनहरु तीव्र गतिमा बनिरहेका छन् । भवन सँगै सेवा प्रवाहको गति पनि बढ्नुपर्छ । भवन मात्र भएर हुदैन् आम जाजरकोटीबासीको आशाको केन्द्र बन्नुपर्छ अस्पताल । समान्य चेकचाँच गर्नका लागि रुकुम पश्चिमको चौरजहारीमा पुग्ने गरेका यहाँका बासिन्दालाई सेवा प्रवाह मार्फत विश्वास दिलाउनुपर्नेछ ।
भौगोलिक विकटताका कारण स्वास्थ्यमा नागरिकको पहुँच पुगेको देखिदैन् । स्वास्थ्य सेवा कार्यालयले नागरिकलाई विश्वास दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन के गरिरहेको छ, किन आउँछन् धेरै गुनासोहरु ? लगायतका विषयहरुलाई समेटेर हाम्रो पहुँच डटकमले निमित्त व्यवस्थापक नवराव कडेल सँग संक्षिप्त कुराकानी गरेको छ ।
१. स्वागत छ ।
धन्यवाद ।
२. तपाईले सरकारी सेवामा कसरी प्रवेश गर्नुभयो ?
२०५७ सालको एस.एल.सी. परीक्षामा सार्वजनिक विद्यालयतर्फ दाङ जिल्लामा प्रथम भई स्कुलअफ हेल्थ साइन्स भरतपुर चितवनबाट सामान्य चिकित्सा विषयमा प्रमाणपत्र अध्ययन पश्चात लोक सेवा आयोगबाट सरकारी सेवामा प्रवेश गरेको हँु । पछि महाराजगञ्ज मेडिकल क्याम्पस काठमाडौंबाट जनस्वास्थ्य विषयमा स्नातक र स्नातकोत्तर अध्ययन गरी सातौं तहमा लोक सेवा आयोग बाट खुलातर्फ सिफारिस भई हाल आठौं तहमा कार्यरत रहेको छु ।
३. कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले देखि हाल सम्म भएका महत्वपूर्ण उपलब्धिहरु के के हुन् ?
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले विषम परिस्थितिमा मलाई स्वास्थ्य सेवा कार्यालय जाजरकोटको कार्यालय प्रमुखको जिम्मेवारी दिएको हो । यस भन्दाअघि स्वास्थ्य सेवा निर्देशनालयमा कार्यरत रहेको थिए । म भन्दा अघिका कार्यालय प्रमुख माथि गरिएको दुव्र्यवहारको घटनाले कार्यालय व्यवस्थापनको पाटो बिथोलिएको थियो । सबै सरोकारवालाहरुसंग छलफल गरी कार्यालयको वातावरणलाई सामान्य अवस्थामा ल्याए । प्रदेशका सबै जिल्ला अस्पतालमा अस्पताल विकास समिति क्रियाशील थिएन ।
सोको लागि मन्त्रालयमा पत्राचार गरी तथा मौखिक रुपमा पहल गरें । समग्र जिल्लाको स्वास्थ्य सूचकहरुमा ध्यान दिदै मूल्यांकनमा अब्बल भई जाजरकोट जिल्लालाई कर्णाली प्रदेशमा प्रथम बनाउन सफल भए । स्थानीय तहहरुमा सहजीकरण गर्दै जाजरकोट जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न कार्यालयको नेतृत्वकर्ताको रुपमा अग्रणी भूमिका निर्वाह गरें । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सुचारु गराउनका लागि विशेष पहल गरी हाल संचालनमा रहेको छ ।
जाजरकोट जिल्ला अस्पतालको निर्माणाधीन भवनहरु समयमा योजना मुताबिक सम्पन्न गर्नको लागि सहरी विकास तथा भवन निर्माण विभागको संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतसंग निरन्तर समन्वय गरिरहेको छु । जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने स्वास्थ्य तथा खोप सेवाको निरन्तरता, तथ्यांकको गुणस्तर तथा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिको लागि प्रदेशका माथिल्ला निकायहरु, स्थानीयतहहरु तथा विकास साझेदार संस्थाहरुसंग समन्वय तथा सहकार्य गरिरहेको छु ।
४. जाजरकोटमा स्वास्थ्य क्षेत्रका चुनौतीहरु के के हुन् तपाईको बुझाईमा?
जिल्लाभरका स्वास्थ्य संस्थाहरुमा जनशक्तिको अभाव हुनु र विशेष गरी जिल्लामा ५० बेडको अस्पताल स्वीकृत भइसक्दा पनि त्यसमा समयानुकुल संगठन संरचना तथा दरबन्दी तेरिज नहुँदा यसका विभिन्न विभाग तथा इकाईहरुबाट प्रदान गरिने सेवाहरु सहज तरिकाले प्रवाह गर्नमा कठिनाई हुनु मुख्यचुनौती रहेको छ । त्यसैगरी निःशुल्क औषधि तथा उपकरणहरुको अभाव हुने गरेको छ । गत आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा बजेट सिलिङ एक तिहाइले घटेको छ । यसले पनि सेवाप्रवाहलाई संकुचित बनाएको छ । बढ्दो जनआकांक्षा र उपलब्ध सीमित स्रोत साधन बीच तालमेल मिलाउँदै स्वास्थ्य सेवालाई सुचारु तथा थप विस्तार गर्दैै लैजानु आफैमा चुनौतीपूर्ण रहेको छ ।
५. स्वास्थ्य सेवा कार्यालयमा जाने बिरामी निराश बनेर फर्किन बाध्य छौं भन्ने गुनासो आउँछ किन?
हामीले आफ्नो सामथ्र्यले भ्याए सम्म गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने प्रयास गरिरहेका छौं । कहिले काही व्यवस्थापन गर्ने सिलसिलामा नै कुनै कुराको अभाव भएको बेला बिरामीलाई सेवा दिनमा कठिनाई भएको अवस्था आउँछ । आगामी दिनमा चुस्त व्यवस्थापन मार्फत त्यसलाई न्यूनीकरण गर्ने प्रयासमा छौं । कुनै कठिनाई हुँदा कार्यालयलाई समयमा जानकारी गराई समस्या समाधानमा सहयोग गर्नको लागि सेवाग्राही तथा सरोकारवालाहरुलाई अनुरोध गर्दछु ।
६. तपाईले स्वास्थ्य सुधारका लागि कस्तो योजना बनाउनुभएको छ ?
जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थाहरुमा न्यूनतम सेवा मापदण्डले निर्देश गरेका पक्षहरुमा ध्यान दिई कार्यान्वयन गर्न सकेमा स्वास्थ्य सेवा तथा सोको व्यवस्थापनमा सुधार आउँछ । स्थानीय तहहरुसंग समन्वय गर्दै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका बमोजिम स्वास्थ्य संस्थाहरुमा प्रसूति केन्द्रको स्थापना तथा सोको गुणस्तर सुनिश्चिततामा सहजीकरण गर्नु अतिआवश्यक रहेको छ ।
जिल्ला अस्पतालमा कुपोषित बालबालिकालाई लामो समय सम्म भर्ना गरी उपचार गर्न संघीय सरकारको सहयोगमा पोषण पुनस्र्थापना गृहको स्थापना तथा संचालनका लागि पहल भइरहेको छ । स्थानीय स्वास्थ्य संस्थाहरुमा कुपोषणको बाह्य उपचार केन्द्र स्थापना तथा विस्तारमा सहजीकरणको निरन्तरता आवश्यक रहेको छ । पूर्ण खोप जिल्ला घोषणा भइसकेको अवस्थामा सोको सुनिश्चितता कायम राख्नका लागि विशेष ध्यानदिनुपर्ने हुन्छ । निःशुल्क औषधीको नियमित आपूर्ति व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसंग समन्वयमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
स्वास्थ्य बिमा तथा सामाजिक सेवा इकाई मार्फत विपन्न तथा लक्षित समूहका सेवाग्राहीलाई निशुल्क वा छुटमा स्वास्थ्य सेवाप्रवाह गर्ने र अन्य बिरामीहरुलाई तोकिए बमोजिम सशुल्क सेवादिने पद्धतिलाई थप सुदृढ गरिनेछ । कार्यालयको सामथ्र्यमा आधारित रही जिल्ला अस्पताल विकास समितिको निर्णय अनुसार कार्यालयको स्वीकृत ड्युटी रोस्टर अनुसार अतिरिक्त समयमा सेवाप्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त सेवा प्रदान गर्न पहल गर्ने तथा सो सम्बन्धमा नीति तथा योजनाका लागि सामाजिक विकास मन्त्रालय तथा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पैरवी गरिनेछ । एम्बुलेन्स सेवालाई नियमित तथा थप सुदृढ गर्दै लैजाने प्रयासमा छौं ।
७. अन्त्यमा के भन्नुहुन्छ ?
स्वास्थ्य साक्षरता तथा सचेतना वृद्धि गरी जाजरकोट जिल्लाबासीलाई रोग लाग्न बाट बचाउन तथा स्वास्थ्य समस्या आउँदा उपलब्ध स्वास्थ्य सेवाको उपभोग तथा सोको पहँुच बढाउनका लागि सम्पूर्ण जनप्रतिनिधि, राजनीतिकर्मी, संचारकर्मी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका,स्थानीयतहहरु, प्रशासनिक निकाय, विकास साझेदार संस्थाहरु लगायत आम जनसमुदायको महत्वपूर्ण भूमिका रहेको हँुदा आफ्नो आफ्नो तर्फबाट पहल कदमीका लागि आह्वान गर्दछु ।
धन्यवाद ।
हाम्रो पहुँच संवाददाता । १० फाल्गुन २०७९, बुधबार