काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू मा बाँकी ९ खेल जितेमा शीर्ष ३ मा रहँदै विश्वकपको ग्लोबल छनोट खेल्न पाउने समीकरण बनेको छ ।
नामिबियाले जारी शृंखलामा सबै चार वटा खेल हारेपछि लिग टुको शीर्ष ३ मा पर्ने तेस्रो टोली बन्न सक्ने अवसर नेपालले पनि पाएको हो ।
विजेता स्कटल्याण्ड र अहिले दोश्रो स्थानमा रहेको ओमान शीर्ष ३ मा रहने निश्चित भइसकेको छ । नामिबिया, यूएई र नेपाल मध्ये एउटा टिम तेस्रो हुने छ ।
शृंखलामा दुई खेल खेल्न बाँकी रहेको नामिबिया ३७ अंकसहित तेस्रो स्थानमा छ ।
१० खेल खेल्न बाँकी यूएईको २७ अंक छ । ९ खेल बाँकी रहेको नेपाल यूएईभन्दा ३ अंकले पछि छ ।
नेपालले यूएईसँगै ४ खेल खेल्न बाँकी छ । शीर्ष ३ मा पुग्नका लागि यूएई र नेपाललाई यी ४ खेलको नतिजा निर्णयक रहने छ । त्यसअघि नेपालले मंगलबार स्कटल्याण्डलाई पराजित गर्नु पर्ने छ ।
त्यसबाहेक नेपालले पपुवा न्युगिनीसँग ४ खेल्ने छ । जसमध्येका २ खेल यूएईमा र २ खेल नेपालमा हुने छन् । युएईले पनि पपुव न्युगिनीसँग २ खेल घरेलु मैदानमा र २ खेल नेपालमा खेल्ने छ ।
काठमाडौंमा चारै खेल हारेको नामिबियाले भने युएईमा अब २ खेल खेल्ने छ ।
सबै ३६ खेल खेलेको अमेरिका ३५ अंकसहित तालिकाको चौथो स्थानमा छ । पुछारमा रहेका पपुवा न्युगिनीको भने मात्र ५ अंक छ ।
हाम्रो पहुँच संवाददाता । ८ फाल्गुन २०७९, सोमबार