सल्यान । सल्यानमा एक महिलाले भाउजु नाता पर्ने महिलालाई खुकुरी प्रहार गरेकी छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ मुलखोला बस्ने प्रेम ओलीकी श्रीमती ३१ वर्षीया दुर्गा ओलीले नातामा भाउजु पर्ने दुर्गी खड्कालाई शनिबार बेलुका खुकुरी प्रहार गरेकी हुन् ।
खुकुरी प्रहारबाट दुर्गीको घाँटीको बायाँ भाग र कान काटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । आपसमा भएको सामान्य विवादका कारण आवेशमा आएर दुर्गा ओलीले दुर्गी खड्कालाई खुकुरी प्रहार गरेको उनले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते भएकी दुर्गी खड्काको जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित परोपकार अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ । अहिले उनको नर्सिङ होममा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने दुर्गा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको तर खुकुरी नभेटिएको सूचना अधिकारी प्रहरी निरीक्षक खनालले जानकारी दिए । उनका अनुसार उनलाई ईलाका प्रहरी कार्यालय लुहामको हिरासत कक्षमा राखिएको छ । घटनाको जाहेरी परेमा त्यहिअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।
हाम्रो पहुँच संवाददाता । ७ फाल्गुन २०७९, आईतवार