सल्याान : जिल्लाको बागचौर नगरपालिका १० पिपलनेटामा एक महिला आफ्नै घरमै मृत भेटिएकी छन्। ३५ वर्षीया टीका खड्का आइतबार बिहान घरमै मृत अवस्थामा भेटिएकी हुन्।
शनिबार बेलुकी खाना खाएकी खड्का घरकै भान्साकोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। मृत्तक खड्काले हिजोदेखि पेट दुख्ने गरेको बताउँदै आइरहेको बुझिएको प्रहरीको भनाइ छ। माइती पक्षले घटना शंकास्पद रहेको र श्रीमानले हत्या गरेको आरोप लगाएका कारण प्रहरीले मृत खड्काका श्रीमान रमेश खड्कालाई नियन्त्रणमा लिएको छ।
माइती पक्ष आएपछि प्रारम्भिक कार्य पुरा गरी शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल पठाइएको खनालको भनाइ छ । उनका अनुसार रमेशलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको अनुसन्धानपश्चात् मात्र महिलाको के कारण मृत्यु भएको भन्ने खुल्नेछ।
धारिलो हतियार प्रहार गरी एक महिला घाइते
यस्तै, जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ मुलखोलामा धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन्। मुलखोलाकी ३१ वर्षीया दुर्गा ओलीले गाउँले भाउजु नाता पर्ने ३७ वर्षीया दुर्गी खड्का धारिलो हतियार ( खुकुरी) प्रहार गरी घाइते बनाएकी हुन्। एक आपसमा सामान्य वादविवाद हुँदा ओलीले खड्कामाथि धारिलो हतियार प्रहार गरेकी हुन्।
घाइते खड्काको सल्यान श्रीनगर स्थित परोपकार अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। धारिलो हतियार प्रहार गर्ने ओलीलाई नियन्त्रण लिएर आवश्यक अनुसन्धान अघि बढाएको सूचना अधिकारी खनालले जानकारी दिए।
हाम्रो पहुँच संवाददाता । ७ फाल्गुन २०७९, आईतवार