फाईल तस्वीर :
हुम्ला । उमेर नपुगी बिबाह गर्ने एक जोडीबिरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा दिने तयारी गरिरहनुुभएकी छात्राले बिबाह गरेको उजुरी प्रहरीमा परेपछि प्रहरीले मुद्दा दर्ता गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक गिताप्रसाद चौधरीले बालबिबाहसम्वन्धी मुद्दा अदालतमा दर्ता भएको बताउनुुभयो । मुद्दा दर्तासँगै दुई जनाको अदालतबाट म्याद थप समेत भइसकेको छ । उहाँले खार्पुनाथ गाउँपालिका –३ निवासी १७ वर्षीया छात्रालाई सोही गाउँपालिका –४ को छिप्रा निवासी २० वर्षे लक्ष्मण नेपालीले बिवाह गरेको उजुुरीका आधारमा मुद्दा दर्ता गरिएको बताए ।
नाम परिवर्तित छात्रा सोही गाउँपालिका –४ कै सीता माध्यमिक विद्यालयमा अध्ययनरत रहेको र यस पटक उहाँले एसईई परीक्षा दिने तयारी गरिरहनु भएको छ । भान्जीले नेपालीसँग बिवाह गरेको जानकारी पाएपछि हाल संरक्षक रहँदै आउनुुभएका मामाले प्रहरीमा उजुरी दिएका थिए ।
सुरक्षाको कारण मामाको नाम उल्लेख नगरिएको प्रहरीले जनाएको छ । छात्राको जन्मदर्तामा २०६२ कात्तिक २८ गते जन्ममिति रहेको छ । यसअघि यसरी बालबिबाह गर्नेबिरुद्ध प्रहरीले चङ्खेली र ताँजाकोट गाउँपालिकाका दुई वटा मुद्दा दर्ता गरेको र सो मुद्दा बिचाराधिन रहेका छन् ।
यसअघि जिल्लाभरी बालबिबाह भए पनि यसरी मुद्दा दर्ता नभई गाउँमै आफन्त र परिवारका सदस्यहरुले मिलाउने कार्य हुनेगरेको थियो । बालबिबाह गर्ने बालबालिकाबिरुद्ध मुद्दा दर्ता हुन थालेपछि यसबाट बालबिबाहमा न्यूनीकरण आउने बिश्वास प्रहरीले लिएको छ ।
हाम्रो पहुँच संवाददाता । ३ फाल्गुन २०७९, बुधबार