सेवाप्रवाहमा अब्बल बन्दै नलगाड


जाजरकोट । भौतिक संरचनासहित सेवा प्रवाहमा समेत नलगाड नगरपालिका अब्बल बन्दै गएको छ । सबै वडाहरुमा वडा कार्यालय निर्माण गरि आफ्नै भवनबाट सेवा प्रवाह गरेको नलगाड नगरपालिकाले सबै वडाबाट स्वास्थ्य सेवा समेत दिएको छ ।

आफ्नै भवनमा स्वास्थ्य सेवा दिएको नलगाड नगरपालिकाले वडा नम्बर ९ र १३ मा मात्र सडक पु¥याउन बाँकी छ । वडा नम्बर १ र १२ उत्तम व्यवस्थापनसहित सेवा दिन नयाँ भवन निर्माण भइरहेको छ । वडा नम्बर ७ र ११ मा सेवा प्रवाह भइसकेको नगरप्रमुुख डम्बर रावतले जानकारी दिए ।

अब वडा नम्बर ४ र १० मा समेत नयाँ प्रविधि जडान गर्न भवन निर्माण गरिने जानकारी उनले दिए । एम्बुलेन्स सेवासमेत नगरपालिकाले ल्याइसकेको छ । भाडाको भरमा चलेको सबै कार्यालय आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा लिन र दिन समेत व्यापक सजिलो भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा समेत सबै पालिकालाई उछिन्दै नलगाड एक नम्बरमा आएको छ । सामाजिक सुरक्षा भत्ता वितरणजस्तो जनतासँग जोडिएको कार्यलाई नगरपालिकाले बैंकको सहभागितामा सबै वडाबाट वितरण गरेको छ । बैंक आउन नसक्ने, आउन र जान मात्र धेरै समय लाग्ने ठाउँका जेष्ठ नागरिकलाई घरमै पुगेर भत्ता हातमै पारिएको छ। शान्ति सुरक्षालाई भरपर्दो बनाउन मुकाम क्षेत्रमा प्रहरीको सहकार्यमा सिसिटिभी क्यामरा जडान गरी शान्ति सुरक्षामा हुन सक्ने समस्या हल गर्ने काम समेत नगरपालिकाले गरेको छ ।

आर्थिक रुपमा समेत कमजोर भएकाले आफ्नो उपचार गराउन नसक्ने अपांग, अशक्त तथा असहाय बालबालिकाको जाजरकोटको नलगाड नगरपालिकाले उपचार गर्न थालेको छ। पहिलो चरणमा नलगाड नगरपालिका–४ स्थित जनता प्रावि पिपलचौरका ७ जना विद्यार्थीलाई बनेपास्थित अस्पतालमा लगेर उपचार गरिएको छ । दोस्रो चरणमा फागुन १४ गते पालिकाभित्रका शारीरिक रुपमा अशक्त तथा असहाय सबै बालबालिकालाई नगरपालिकास्थित दल्लीमा शिविर सञ्चालन गरेर उपचारमा लगिनेछ ।

दल्लीमा उपचार सम्भव नभएका बालबालिकाको बाहिर लगेर उपचार गरिने प्रमुख रावतले बताए। उपचार गर्ने आर्थिक हैसियत नभएका अभिभावकले समेत नगरपालिकाले सबै उपचार निःशुल्क गरिदिने भएपछि खुशी भएको बताएका छन् । यसअघि नगरपालिकाले आर्थिक रुपमा कमजोर परिवारका सदस्य बिरामी भए वा जटिल रोग लागे उपचारका लागि आर्थिक सहयोग गर्दै आएको थियो ।

कार्यविधि बनाएर उक्त सहयोग गर्दै आएको अधिकृत गिरीले जानकारी दिए। नगरपालिकाकै पहलमा अहिले पालिका स्तरमै आँखाको उपचार सेवासमेत शुरु भएको छ । आँखाको उपचार गर्न सदरमुकाम आउनुपर्ने बाध्यता अन्त्य भएसँगै यहाँका सर्वसाधारण घर, आँगनमै जाँच गरि सेवा लिइरहेका छन् । पशु चौपायालाई समेत पिपिआर खोपदेखि अन्य सेवासमेत सबै वडामै गएर दिइएको छ ।

कृषिमा आत्मनिर्भर हुन नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम गरिरहेको छ। आयतीत वस्तुभन्दा आफ्नै उत्पादनमा जोड दिएर कृषिजन्य वस्तु उत्पादन गरी निर्यात गर्न विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको नगरपालिकाका अधिकृत गिरीले जानकारी दिए । नगरबाट मह, लसुन, मकैलगायत वस्तु जिल्लाबाहिर बिक्री हुने गरेको उनले बताए ।

नगरपालिकाले मौरीपालन पकेट क्षेत्रका रूपमा वडा नं १, २ र ४ लाई लिएको छ। सुन्तला पकेट क्षेत्रका रुपमा वडा नं ३, अलैँचीका लागि वडा नं ३, लसुनका लागि ९, १० र ११ वडालाई पकेट क्षेत्रका रूपमा लिइएको छ । धानका लागि वडा नं ७ र ८, मकैका लागि वडा नं ५, आलुका लागि ३ र ६ नं वडालाई पकेट क्षेत्रका रूपमा लिइएको छ । कागतीका लागि वडा नं ५, फलफूलका लागि वडा नं १३, तरकारी का लागि २, ४, ५, ७ र ८ नं वडालाई पकेट क्षेत्रका लिइएको छ ।

क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ६ हेक्टर जमिनमा हिउँदे आलु, १० हेक्टर जमिनमा उन्नत जातको गहुँको बीउ उत्पादन, १ सय ९० हेक्टरमा उन्नत जातको तोरीको बीउ उत्पादन गरिएको छ । त्यस्तै ६ हेक्टर जमिनमा प्याजको उन्तत बीउ, १० हेक्टर जमिनमा लसुनको बीउ लगाइएको छ । नलगाड नगरपालिका वडा नं ७ मा ६ हेक्टरमा गहुँको मूलबीउ उत्पादन भइरहेको छ ।

वडा नं ४ को ४० हेक्टर जमिनमा तोरीको मूलबीउ उत्पादन भइरहेको कृषि शाखाका बालकृष्ण आचार्यले बताए । प्याज, रायो र मुलाको उन्नत बीउसमेत वडा नं ५ को रानीखेतमा उत्पादन भइरहेको छ । स्थानीय सरकार सञ्चालन भएपछि कृषिमा लगानी बढाएसँगै यहाँ उत्पादन दरसमेत बढेको प्रशासकीय अधिकृत गिरीले उल्लेख गरे ।

नलगाडको उत्पादन सुर्खेत, नेपालगञ्ज र काठमाडौँसम्म बिक्री हुने गरेको छ। सिँचाइयोग्य भूभागमा सिँचाइ सुविधा, कृषिमा यान्त्रिकीकरण र उपयुक्त समयमा मल उपलब्ध गराइएको उनको भनाइ थियो । भेरी करिडोरसँग अधिकांश भूभाग जोडिएका कारण यहाँ उत्पादन भएको खाद्य सामग्री बाहिर लैजानसमेत सजिलो भएको छ ।

नलगाड जलविद्युत आयोजनाले निर्माण गरेको सडकसमेत यही पर्छ। नगरपालिकाको कूल ३८ हजार ७ सय ४४ हेक्टर जमिनमध्ये ३ हजार ४ सय ४० खेतीयोग्य जमिन रहेकामा २७ सय ५६ हेक्टरमा खेती गरिएको छ । २३ वटा महिला कृषक समूह सक्रिय भएर काममा लागेको नगरपालिकाले जनाएको छ। दुईवटा पुरुष कृषक समूहले पनि काम गरिरहेका छन् । नगरपालिकामा १ सय ६३ मिश्रित कृषक समूह रहेका अधिकृत गिरीले जानकारी दिए ।

आव ०७६÷७७ मा १३ टन, ०७७÷७८ मा १४ टन, ०७८÷७९ मा ३ दशमलव २२ टन मह उत्पादन भएको नगरपालिकाले जनाएको छ । आव ०७६÷७७ मा ३५ टन, ०७७÷७८ मा ३५ टन, ०७८÷७९ मा २५ टन सुन्तला उत्पादन भएको थियो । आव ०७६÷७७ मा ८० टन, ०७७÷७८ मा १ सय टन, ०७८÷७९ मा १ सय ५० टन लसुन उत्पादन भएको थियो ।

तपाईको प्रतिक्रिया