काठमाडौं । निर्मला कुर्मीका लागि न्याय मागिरहेका बाँकेका महिला र गृह मन्त्रालयबीच ३ बुँदे सहमति भएको छ ।
सहमतिसँगै ४८ दिनदेखि माइतीघर मण्डलामा अनशनरत महिलाहरु घर फर्किने भएका छन् ।
बाँकेको नेपालगञ्ज उपमहागरपालिका १७ कि निर्मला कुर्मीका श्रीमानको ०६२ मा मृत्यु भएको थियो । श्रीमानको मृत्युको चार वर्षपछि कुर्मीका दुई छोराको दश दिनको अन्तरालमा ०६६ मंसिरमा रहस्यमय तवरमा मृत्यु भयो ।
श्रीमान र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपुर्जा र निर्मलाको नागरिकता लिएका थिए ।
०७५ मा निर्मला कुर्मी बेपत्ता भइन र उनको नाममा रहेको घरजग्गा पनि अरुको नाममा सारियो । अपहरण पछि कुर्मीको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरी समेत परेको छ ।
संविधानसभा सदस्य समेत रहिसकेका बादशाह बाँके क्षेत्र नम्बर ३ ‘२’ बाट लुम्बिनी प्रदेशसभा सदस्य समेत हुन् ।
अधिकारकर्मी रुबी खानसहितले निर्मला कुर्मीले न्याय पाउनुपर्ने माग सहित ०७८ असोजमा नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका थिए ।
त्यसपछि सरकारले निर्मला कुर्मी हत्या छानबिन गर्न गृहमन्त्रालयका सचिव हिरालाल रेग्मीको नेतृत्वमा समिति बनाएको थियो ।
समितिले १४ कात्तिक ०७८ मा बादशाह कुर्मी दोषी देखिएकाले उनीमाथि अनुसन्धान गर्नुपर्ने निर्क्यौलसहितको प्रतिवेदन तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको थियो ।
यो प्रतिवेदनपछि बादशाह सहित ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी समेत परेको छ । सांसद कुर्मी भने भदौ ०७८ देखि नै हाजिरी जमानीमा छन् ।
हाम्रो पहुँच संवाददाता । २ फाल्गुन २०७९, मंगलवार