जाजरकोट । जुनीचाँदे गाउँपालिकाको पहिलो प्रमुख प्रशासकीय अधिकृत (हाकिम) हुन् कृष्णबहादुर शाह । भलै उनी निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर आएका थिए । उनी गाउँपालिकामा मुस्किलले चार महिना टिके । २०७३ फागुनमा प्रमुख प्रशासकीय अधिकृत भएर आएका उनी २०७४ बैशाखमै सरुवा भएका थिए ।
दोस्रो पटक प्रमुख प्रशासकीय अधिकृत भएर आईपुगे बखतबहादुर खड्का । उनी पनि छोटो समयमै सरुवा भए । २०७४ सालमै तेस्रो प्रमुख प्रशासकीय अधिकृत भए राजेन्द्र पौडेल । गाउँपालिकामा उनका लागि पनि लामो समय टिक्ने वातावरण मिलेन । अन्य जस्तै पौडेल पनि छोटो समयमै सरुवा भए ।
पौडेलपछि २०७५ सालमा सर्वदल शाही प्रमुख प्रशासकीय अधिकृतको रुपमा आए । उनी अरुभन्दा धेरै समय टिके । उनकै पालामा विकास निर्माणका कामले गति लिए । प्रशासकीय गतिविधीहरु चलायमान भए । जनप्रतिनिधी र कर्मचारी थौरै भएपनि समन्वयको वातावरण बन्यो ।
शाहीपछि २०७७ सालमा टेकबहादुर शाही आए । ०७७ भदौ ११ गते आएका उनी चार महिना पनि टिकेनन् । ०७७ पुस ३० गते उनी सरुवा भए । उनी सरुवा भएपछि २०७७ सालमै प्रमुख प्रशासकीय अधिकृत भए दिपक कुमार शाही । शाहीको कार्यकाल पनि त्यति लामो हुन सकेन् । उनीपछि २०७८ सालमा गणेशबहादुर बस्नेत प्रमुख प्रशासकीय अधिकृतको रुपमा आए । २०७८ फागुनमा प्रमुख प्रशासकीय अधिकृत भएका उनी चैत्रमा सरुवा भए ।
बस्नेतपछि २०७९ मा प्रेमप्रकाश केसी प्रमुख प्रशासकीय अधिकृत भएर आए । केसी पनि ६ महिना नपुग्दै सरुवा भएर गए । वैशाखमा गाउँपालिकामा आएका उनी असोज नलाग्दै सरुवा भए । पछिल्लो छ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत भएर आएका छन् पित्रीभक्त गिरी ।
उनी असोजमा मात्रै सरुवा भएर गाउँपालिकामा आएका हुन् । गिरी पनि कति समय टिक्छन् भन्ने कुनै टुंगो छैन् । यसरी हेर्दा पछिल्लो छ बर्षको अवधिमा जुनीचाँदे गाउँपालिकामा ९ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सर्वदल शाही बाहेक अरु हाकिमहरु छ महिना सम्म टिक्न सकेनन् । प्रमुख प्रशासकीय अधिकृत फेरिनुको एउटै कारण आर्थिक स्वार्थ हो । कर्मचारीलाई जनप्रतिनिधीहरुले आफु अनुकुल काम गराउन खोज्नु र कर्मचारी आर्थिक लाभ हुने काम मात्र गर्न खोज्ने प्रवृतिका कारण जुनीचाँदेमा हाकिमहरु टेक्न गाह्रो गएको हो ।
‘जनप्रतिनिधीहरुले हामीलाई एसमेन बनाउन खोज्नुहुन्छ’, एक कर्मचारीले भने, ‘जे भन्यो, त्यही नगरेपछि सरुवा हुनुको विकल्प हुदैन् ।’ सरुवा भएका कर्मचारीहरु नियम र कानुनले नमिल्ने गर्न दवाव दिएका कारण कर्मचारीहरु टिक्न मुस्किल हुने गरेको बताउँछन् । जनप्रतिनिधी र कर्मचारीको स्वार्थ नमिल्दा ६ बर्षमा ९ जना हाकिम फेरिए आजको भेरीमालिका दैनिकमा खबर छ ।
हाम्रो पहुँच संवाददाता । २ फाल्गुन २०७९, मंगलवार