जाजरकोट दरवारलाई संग्राहलय वनाउने अभियान अन्तरगत चर्चित गोरखा दरवार र त्यहाँको दरवार संग्राहलयवारे अध्ययन भ्रमण गर्ने इच्छाले माघ २७ गते विहान गोरखा जिल्लामा पुग्ने अवसर मिल्यो । नेपाल एकीकरणका प्रवर्तक पृथ्वीनारायण शाह जन्मेको दरवार हेर्ने र त्यहाँ सरकारले निर्माण गरेको ऐतिहासिक संग्राहलय अवलोकन गर्ने मेरो पुरानो धोको पुरा गर्न जाँदा दरवारको स्वरुप र संग्राहलय भित्रका सामाग्रीहरु मात्रै नभएर त्यहाँको अन्य अवस्थाको अध्ययन गर्ने पनि अवसर मिल्यो ।
दुई घण्टाको गोरखा वसाईको क्रममा मैले गोरखा दरवार र त्यस आसपासको क्षेत्र अनि भुगोल लगायत अन्य कुराको अध्ययन अवलोकन गर्ने क्रममा गोरखा दरवार क्षेत्र र जाजरकोट दरवार क्षेत्र वीचका केही कुराहरु तुलना गर्न मन लाग्यो । विक्रम सम्वत १४५५ मा राजा जगतिसिंहले स्थापना गरेको जाजरकोट राज्य र विक्रम सम्वत १६१६ भदौ २५ गते द्रव्य शाहले स्थापना गरेको गोरखा राज्यको महत्वका वीचमा धेरै फरक भएपनि भुगोल र मौलिकतामा समानता पाएँ ।
राजा राम शाहले विक्रम सम्वत १६६६ मा निर्माण गरेको गोरखा दरवार क्षेत्र अहिले पनि मौलिक रुपमै सुरक्षित छ । विक्रम सम्वत १७७९ सालमा नेपाल एकीकरणका प्रवर्तक पृथ्वीनारायण शाहको जन्म भएको उक्त दरवारको ऐतिहासिक पुरातात्विक तथा मौलिक महत्वका साथै सो क्षेत्रको जीवन्त मौलिक वातावरण र स्वरुपले जो कोहिलाइ पनि प्रभावित वनाउँछ । गोरखा राज्य र दरवार क्षेत्रको सम्वन्ध इतिहासमा जाजरकोट राज्य र दरवारसंग पनि भएकोले यी दुई क्षेत्रका वारेमा केही तुलनात्मक विश्लेषण गर्न मन लागेको छ ।
१. गोरखा दरवार क्षेत्र
ऐतिहासिक पुरातात्विक तथा राष्ट्रिय महत्वको ४ सय १३ वर्ष पुरानो गोरखा दरवार क्षेत्र गोरखा सदरमुकाम वजार भन्दा माथिको ढुंगे टाकुरोमा रहेको छ । वरिपरिको घना जंगल, अप्ठेरो चटटानी पहाडमा उतिवेलै वनाइएको ढुंगे सिढी,कलात्मक संरचनाहरु,उतिवेलैका भौतिक स्वरुप र चटटानी पहाडको टुप्पोमा रहेको कलात्मक गोरखा दरवार राष्ट्रिय महत्वको ऐतिहासिक तथा पुरातात्विक सम्पदा वनेको छ ।
विक्रम सम्वत १७७९ मा नेपाल एकीकरणका प्रर्वतक राजा पृथ्वीनारायण शाहको जन्म यहि दरवारमा भएका कारण पनि यो दरवार क्षेत्रको महत्व र गरिमा झन वढेको छ । शासन सञ्चालनमा निकै चतुर र निपुण पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको अभियान सुरु गर्ने र सफल वनाउने प्रेरणा दिएको यस दरवार क्षेत्र सवैको लागि अध्ययन र चासोको विषय छ । वर्षाैं सम्म दरवार क्षेत्र वरपरिको मौलिक स्वरुप र संरचना जोगाइ राख्ने काममा गोरखाली जनता, नेता, स्थानीय सरोकारवालाहरुले दिएको चासो र खेलेको भुमिका अन्य ठाउँका लागि सिकाइको स्रोत भएको देखिन्छ ।
२. जाजरकोट दरवार क्षेत्र
आज भन्दा ६ सय २४ वर्ष अघि अर्थात विक्रम सम्वत १४५५ मा राजा जगतिसिंह मेदिनीवर्माले स्थापना गरेको जाजरकोट राज्यका नवौं राजा मन्दिर शाहले तत्कालिन राजधानी जगतिपुरवाट हालको खलंगा वजारको माथि टाकुरोमा राजधानी सारेको क्षेत्रलाई नै जाजरकोट दरवार क्षेत्र भनिन्छ । जाजरकोटका १६ औं राजा हरि शाहको पाला देखि नै जाजरकोट राज्यको चर्चा र महत्वको वयान इतिहासमा छ । विक्रम सम्वत १८०० सालमा काँसी भ्रमणमा गएका गोरखाका राजा पृथ्वीनारायण शाह र जाजरकोटे राजा हरी शाह विचमा भएको भेटघाट तथा धर्मसन्धी पछिको अवस्थाका कारण जाजरकोट दरवार क्षेत्रको महत्व र चर्चा उल्लेखनीय छ ।
विक्रम सम्वत १८०० सालपछि खलंगाको टाकुरोमा निर्माण भएको दरवार क्षेत्रमा रहेका रातो दरवार र सेतो दरवार क्षेत्रलाई नेपाल सरकारले चार वर्ष .अघि मुलुकका प्रमुख पर्यटकीय गन्तव्यको सुचीमा राखेको छ । हल्ला र चर्चा वढी नभएका कारण ओझेलमा परेको जाजरकोट दरवार क्षेत्रले स्वयम जाजरकोटीकै साथ नपाएर मौलिकता गुमाउन पुगेको छ । विगतका केही मौलिक संरचनाको विनास, राज्यकालमा प्रयोग भएका सामाग्रीहरुको चोरी तथा दरवार क्षेत्र सम्मको पहुँच मार्गको स्वरुप विनास भएका कारण जाजरकोट दरवार र इतिहासवारे नयाँ पुस्ताका चासो र जिज्ञासाहरु अनुत्तरित हुने देखिन्छ ।
गोरखा दरवार र जाजरकोट दरवार क्षेत्र वीचका केही मिल्दा र नमिल्दा कुराहरु
१. गोरखा दरवार र जाजरकोट दरवार दुवै सदरमुकाम वजार माथिको टाकुरोमा छन् तर गोरखा दरवार नमिलेको चट्टानको टाकुरोमा छ भने जाजरकोट दरवार मिलेको खुल्ला टाकुरोमा छ ।
२. गोरखा दरवार र जाजरकोट दरवार दुवै जंगलको वीचमा छन् तर गोरखा दरवार सानो छ जाजरकोट दरवार ठुलो आकारमा छ ।
३.गोरखा दरवार र जाजरकोट दरवारको उत्तरपट्टी भिरालो ठाँउ र दरवार सम्म पुग्न दुइ तर्फ पुर्व र पश्चिमवाट पैदल मार्गहरु छन् तर गोरखा दरवार पुग्न पुरानै मौलिक ढुंगाका सिढी भएका पैदल मार्गमा हिड्न पर्छ भने जाजरकोट दरवार पुग्ने ठाँटी वजार वाट उकालो लाग्ने र गैरीखालीवाट उकालो लाग्ने मौलिक सिढी भत्काएर ऐतिहासिक तथा पुरातात्विक स्वरुप नास गरेर मोटर गुड्ने सडक वनाउने क्रम तिव्र छ ।
४.गोरखा दरवार र जाजरकोट दरवार दुवै शाह वंशीय राजाले वनाएका हुन् तर गोरखा दरवार क्षेत्रका सवै मौलिक संरचनाहरु अहिले पनि उही रुपमा सुरक्षित र व्यवस्थित छन् भने जाजरकोट दरवार क्षेत्र वरपरका अधिकांश स्वरुप र संरचना भत्काएर अवशेष पनि भेट्न नमिल्ने वनाइएदै छ ।
५.गोरखा दरवार र जाजरकोट दरवार दुवै पुरानै स्थानमा छन् तर गोरखा दरवारमा राजाहरुले प्रयोग गरेका सवै सामाग्रीहरु संग्राहलयमा सुरक्षित रुपले राखिएको छ भने जाजरकोट दरवारका केहि सामाग्रीहरु चोरी भएर केही सामाग्रीहरु भाइभारदारहरुले भागवन्डा गरेर राख्दा दरवार खोक्रो भएको छ ।
६. गोरखा दरवार र जाजरकोट दरवार दुवै आकर्षक पर्यटकीय गन्तव्य हुन तर गोरखा दरवारको रेखदेख संरक्षण र सम्वद्र्धनको लािग त्यहाँका स्थानीय जनता, नेता, सरकार र सरोकारवालाहरुको गतिलो चासो र सक्रिता छ भने जाजरकोट दरवारको संरक्षण र सम्वद्र्धनका लागि यहाँका जनता, नेता, सरोकारवाला कसैको कुनै चासो र चिन्ता छैन ।
७. गोरखा दरवार र जाजरकोट दरवार दुवै इतिहास अध्ययन गर्न खोज्नेका लागि महत्वपुर्ण सन्दर्भ सामाग्री हुन तर गोरखा दरवारको प्रचार प्रसार र संरक्षण गर्नका लागि त्यहाँ सवैको सकरात्मक र सिर्जनात्मक सोच र व्यवहार छ भने जाजरकोट दरवारको प्रचार प्रसार र संरक्षणका लागि जिल्लावासीका विचमा सकरात्मक एकता छैन, स्थानीय सरकारलाइ चासो छैन अनि यो क्षेत्र जनप्रतिनिधिहरुको प्राथमिकतामा छैन ।
जाजरकोट दरवार क्षेत्रका मौलिकता के थिए र कहाँ हराए ?
१. मन्दिर शाहको पालामा जगतिपुरवाट खलंगामा राजधानी सरेपछि निर्माण गरिएको दरवारको कुनै अवशेष नभएपनि गोरखाका राजा पृथ्वीनारायण शाहका समकालिन जाजरकोटी राजा हरि शाहले निर्माण सुरु गरेको खलंगाको पहिलो दरवार अर्थात रातो दरवारको छानो मौलिक छैन भने अन्य स्वरुपको संरक्षण गर्ने तर्फ कसैको ध्यान छैन ।
२. जाजरकोट दरवार प्रवेश गर्ने स्थान हालको जिल्ला समन्वय समितिको क्यान्टीन छेउमा रहेको वर पिपलको नजिकै निकै कलात्मक र आकर्षक आकृतिमा उफ्रिन लागेका दुइ वटा सिंहको द्धार २०४२ सालमा जिर्ण भएर भत्काइयो तर त्यसपछि फेरि सो संरचनाको पुर्ननिर्माण गर्ने काम कसैले गरेन ।
३. जाजरकोटको सेतो दरवारको प्रांगण भित्र सम्पदा जोगाउने उद्देस्य भन्दा पनि पैसा कमाउने उद्दस्यले दरवारको ऐतिहासिक तथा पुरातात्विक रुप विनास गर्ने गरि विभिन्न संरचना वनाउने, खन खोर्सन गर्ने तथा पुरानो मौलिक स्वरुप विगार्ने काम भयो तर यसलाइ रोक्न कुनै स्थानीय सरकार, स्थानीय नेता या वासीले चासो देखाएनन् ।
४. इतिहासमा जाजरकोट राज्य चलाउने टाकुराको दरवारमा जानका लागि उतिवेलाका जनताको कठिन मेहनत र लगानीमा निर्माण गरिएको ठाँटीवजार र गैरीखालीवाट उकालो लाग्ने सिढी सहितका वाटोहरु हाका हाकी विकासका नाममा भत्काएर सिमेन्ट प्रयोग गरिएका जोखिमपुर्ण मोटरेवल सडक वने यसमा पनि कसैले कुनै चासो र चिन्ता लिएन ।
५. भोलि हाम्रा सन्ततिले हामीलाइ सोध्ने छन् – जाजरकोट दरवार क्षेत्र वरिपरि के के कस्ता संरचना थिए ? दरवार पुग्न जनताहरु कस्तो वाटोको प्रयोग गर्थे ? जाजरकोट दरवारमा के के समान थिए ? खलंगाको पुरानो स्वरुप कस्तो थियो ? हाम्रा ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु जोगाउन कसले के पहल गरयो ? यी स्वभाविक प्रश्नहरुको जवाफ कसले तयार पार्ने ? अहिले सम्म अत्तोपत्तो छैन ।
६. जिल्लाका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको उचित रुपमा जोगाउन न कोही स्थानीय सरकारसंग गुरु योजना छ न कसैले अघि वढाएको अभियानमा कसैको साथ मिल्छ यो जिल्लाको एउटा दुर्भाग्य जस्तै भएको छ ।
७. जाजरकोटको सेतो दरवारको भव्य भवन निकै जिर्ण भइसकेको छ । यसको माथिल्लो तला निकै कमजोर हुनुका साथै यसलाइ तत्काल मौलिक रुपमै पुर्ननिर्माण गर्न जरुरी छ तर यस तफै कसैको सक्रिय पहल छैन ।
८. गोरखाका दुवै दरवारमा कुनै सरकारी कार्यालय छैनन् भने जाजरकोटका दुवै दरवारमा सरकारी कार्यालयहरु छन् ।
निष्कर्ष
नेपालका विभिन्न ऐतिहासिक तथा पुरातात्विक सम्प्दाहरुमा जाजरकोटका सवै नेता जनता र सरोकारवालाहरु पुगेकै छौं । हामी जाजरकोटीहरु पनि त्यस्ता सम्पदाहरुमा गरीव छैनौं । हामी अरुका सम्पदाहरु हेरेर रमाउछौं । तिनको वयान मजाले सुन्छौं तर आफना सम्पदाहरु जोगाउन, व्यवस्थापन गर्ने र तिनको उचित प्रवद्र्धन गर्ने तर्फ कुनै गम्भीर चासो र चिन्तायुक्त काम गरेका छैनौं । हाम्रा अघि हामीले देख्दा देख्दै जिर्ण वन्दै गएका, नष्ट हुदै गरेका अनि ओझेल पर्दै गएका भव्य दरवारहरु, भाषा सँस्कृतिहरु, गीतसंगीत र वाजाहरु अनि प्राकृतिक धरोहरहरु हामीले नजोगाए कसले जोगाइदिने ? स्थानीय सरकारहरु, नेताहरु र नागरिक अगुवाहरु यो विषयमा वेखवर जस्तै वनिदिनु हुदैन ।
हामी पनि जाजरकोट घुम्न आउनेलाई हाम्रा ऐतिहासिक, पुरातात्विक, साहित्यक, भाषिक, साँस्कृतिक र सामाजिक तथा प्राकृतिक सम्पदाहरु देखाउने जिम्मेवारी लिन सक्छौं । यसवाट जिल्लाको पहिचान गर्व गर्न लायक वन्ने मात्र होइन स्थानीय जनताको लागि रोजगारीको अवसर समेत सिर्जना भएर गरिवी निवारणमा समेत सहयोग पुग्छ । डोजरले पहाड छिचोलेर सडक खन्नु मात्र विकास होइन हाम्रा वाजेवज्यै र वाआमाले हामीलाइ दिएका सम्पदा जोगाउनु पर्छ भन्ने हेक्काको इमानदारी कार्यान्वयन पनि क्रान्तिकारीताको अनुकरणीय नमुना हो ।
लेखक केसी जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुन् ।
जनक केसी । २ फाल्गुन २०७९, मंगलवार