कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
जिल्लागत शान्ति सुरक्षाको अवस्थाको जानकारी लिन बुधबार दैलेख आएका मन्त्री जिसीले प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्।
मन्त्री जिसीले कर्णाली प्रदेशको विशेष सुरक्षा योजना निर्माण गर्न जिल्लागत अध्ययनमा हिँडेको बताए। उनले समाजमा हुने अपराध निर्मूल पार्दै प्रदेश सरकारले सुरक्षित कर्णाली प्रदेश निर्माण गर्ने बताए।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रेससँग सम्बन्धित हुने भएकाले प्रदेश आमसञ्चार प्रतिष्ठानसम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा लैजाने उनले धारणा व्यक्त गरे। उनले पुराना सबै कानुनको अध्ययन गरी प्रदेश सरकार थप कानुन निर्माण गर्नतर्फ लाग्ने बताए।
उनले सुरक्षा निकाय केन्द्र सरकारमातहत रहने व्यवस्था भए पनि सबै नागरिकप्रति अझ जवाफदेही हुनुपर्ने धारणा राखे। उनले जनताको सेवा गर्ने सुरक्षाकर्मीको आत्मबल बढाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू बनाउने बताए।
सञ्चारकर्मीले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री जिसीले समाजमा गलत सूचनाको प्रभाव बढ्दै गएको देखिएकाले यसप्रति सबै सजग हुनुपर्ने धारणा राखे।
जनस्तरलाई जवाफदेही बनाउन कर्णालीमा वृहत् सुरक्षा योजना बनाउन लागिएको मन्त्री जिसीले बताए। उनले कर्णालीमा ठूला विकासे आयोजनाको काम समयमै सम्पन्न नहुने गरेकाले पनि समस्या हुने गरेका बताए।
पत्रकार महासंघका केन्द्रीय सदस्य नवीन रिजालले कर्णाली प्रदेश विकासमा पछि परेकाले यहाँको समृद्धिका लागि सबै एक भएर लाग्नुपर्ने बताए।
पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले प्रदेश सरकारले नागरिकलाई दिने सेवाप्रति केही असहजता देखिने गरेकाले यस्ता समस्या समाधानतर्फ ध्यान दिनुपर्ने बताए।
। २५ माघ २०७९, बुधबार