५० लाखको जैविक मल उत्पादन गर्ने उद्योग अलपत्र


जाजरकोट । भेरी नगरपालिका — १३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र परेको छ । प्रदेश सरकारको ५० लाख र कर्णाली वायोइनर्जी एण्ड अर्गानिक फर्टिलाइजर प्रालिले ५० लाख रुपैयाँ सहित निर्माण थालेको जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र परेको हो ।

आर्थिक बर्ष २०७७÷०७८ को कर्णाली प्रदेश सरकारको बजेट बाट उक्त संरचना निर्माण भएपनि त्यहाँ जैविक मल तथा जैविक विषादी उत्पादन गर्न भैंसीपालन गर्नुपर्ने भएपनि अहिले सम्म सो काम हुन सकेको छैन । भेरी करिडोरका साथै मध्यपहाडी लोकमार्गको बीचमा रहेको उक्त ठाउँमा कर्णाली प्रदेश सरकारबाट अनुदान ल्याएर संरचना निर्माण गरेर अहिले अलपत्र अवस्थामा रहेको छ ।

भौतिक संरचना भित्र भैंसीपालन गरेर जैविक मल उत्पादन गर्ने लक्ष्य बीचमै तुहिएको छ । प्रदेश सरकारले भेरी नगरपालिका मार्फत उपलब्ध गराएको ५० लाख रुपैयाँमा काम कम गरेको भन्दै नगरपालिकाले ४२ लाख रुपैयाँ मात्र भुक्तानी दिएको छ । बाँकी प्रालि आफैंले व्यवस्थापन गरेर भैंसीपालन गरी जैविक मल तथा जैविक विषादी उत्पादन गर्नुपर्ने लक्ष्य भएपनि अनुदानको रकम मात्र प्रयोग गरेर बाँकी लगानी नै नगरी बीचमै छाडेको छ ।

लाखौं रकम राज्यको अनुदानको नाममा ल्याएर तोकिएको काम सम्पन्न नगरी बीचमै छोड्दा आर्थिक हानी हुनुका साथै उद्देश्य समेत पूरा नहुँदा समस्या हुने गरेको छ । अनुदानका लागि मात्र विभिन्न कम्पनी खोल्ने कामले श्रमजीवि कृषक मारमा परेका छन् । यता भेरी नगरपालिका नगरप्रमुख चन्दप्रकाश घर्तीले अनुदान लिने तर काम नगर्ने परिपाटी मौलाएको बताए । सरकारले काम गर्ने किसान र सरकारीहरुलाई अनुदान दिनुपर्ने बताए ।

काराेवार दैनिक

तपाईको प्रतिक्रिया