पार्टीबाट कार्यादेश पाएसँगै प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने

पार्टीबाट कार्यादेश पाएसँगै प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौं । एकैदिन पार्टी साधारण सदस्य र केन्द्रीय सदस्य हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा चयन भएका रवि लामिछानेले राजनीतिक भेटवार्ता थालेका छन् ।सर्वोच्च अदालतबाट भएको आदेशअनुसार प्रशासनबाट आइतबार नेपाली नागरिकता कायम भएसँगै लामिछाने आज सबै प्रक्रिया पुरा गरेर केन्द्रीय समितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चुनिएका थिए ।

त्यसपछि बैठकले गृह मन्त्रालयको बारेमा कसरी पार्टीको कमब्याक हुने भन्नेबारे सत्ता साझेदार दलसँग छलफल गर्न लामिछानेलाई कार्यादेश दिएको थियो । सोही अनुसार उनले आइतबार साँझ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।भेटका क्रममा लामिछानेले प्रचण्डसँग समसामयिक र विकसित विषयवस्तुका बारेमा छलफल गरेका थिए । सो क्रममा उनले प्रचण्डलाई गृह मन्त्रालय पार्टीले नै पाउनुपर्ने विषयमा आफ्नो धारणा राखेको बताइएको छ । यद्यपि नेपाली नागरिकता कायम भएपछि उनले आफैँ गृहमा जाने या अरूलाई पठाउने भन्नेबारे प्रचण्डसँग के कुरा गरे भन्नेचाहिँ खुलेको छैन ।आइतबारको केन्द्रीय समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रवक्ता डा मुकुल ढकालले गृहमन्त्रीमा पार्टीको दाबी स्वभाविक भएको बताए । तर, सो मन्त्रालय फेरि पाउने अवस्था बने को जाने भन्नेबारे भने तय नभएको बताए । सत्ता साझेदार दलका नेताहरुसँग छलफलपछि रास्वपाले यसबारे थप निर्णय लिने बताइएको छ ।

तपाईको प्रतिक्रिया