एक करोड खर्चेर बनाईएको माछापोखरीमा ‘माछा’ पाईदैनन्, सहकारी बन्याे कमाई खाने भाँडो


जाजरकोट । माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको एक करोड रुपैयाँ बालुवामा पानी झै भएको छ । भेरी नगरपालिका १३ कुदु स्थित इन्द्रमिलन कृषि तथा पशुपालन सहकारी संस्थालाई आर्थिक बर्ष २०७६/०७७ देखि आर्थिक बर्ष २०७८/०७९ सम्म जम्मा एक करोड रुपैयाँ माछाको भुरा उत्पादन तथा माछापालन भन्दै भुक्तानी भएको छ ।

उक्त सहकारीले अनुदानमा निर्माण गरेको माछाको भुरा उत्पादन तथा माछापालन काम अलपत्र परेको छ । जमिन बाट पानी निकालेर माछा पोखरीमा निरन्तर पानी प्रयोग गर्ने भन्दै स्थापना गरिएको डिप बोरिङ मेशिन समेत खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।

त्यस्तै भुरा उत्पादनका लागि हेचिङ पलान्ट समेत अलपत्र अवस्था पुगेको छ । आर्थिक बर्ष २०७८/०७९ मा पनि यो सहकारीले केही रकम लिन बाँकी रहेको सूचना अधिकारी तिलकबहादुर रानाले बताए । अघिल्लो बर्षको रकम भुक्तानी हुने क्रममा रहेको उनले बताए । ढिला फाइल बुझाएका कारण रकम भुक्तानी हुन नसकेको हो । अहिले भुरा उत्पादन हुृने भनिएको ठाउँमा रहेका पोखरी चिराचिरा परेको अवस्थामा छन् ।

पोखरी बचाउनका लागि राखिएका घेरबार भत्किएका अवस्थामा रहेका छन् । पोखरी भित्र राखिएको प्लाष्टिक च्यातिएर काम नलाग्ने अवस्थामा पुगेको छ । शक्ति केन्द्रको पहँचमा उक्त बजेट सहकारीमा हालेर काम नगरि अलपत्र पार्दा प्रदेश सरकारको बजेट मात्रै खेर गएको कर्मचारी बताउँछन् ।

माछापालन तथा भुरा उत्पादनको नाममा लाखौं रकम झ्वाम पारेको स्थानीयबासीको भनाई छ । अहिले न यहाँ भुरा उत्पादन भए नत माछा उत्पादन नै भयो । पशु अस्पताल तथा पशु सेवा कार्यालय बाट सहकारीलाई ताकेता गर्दा सहकारीका पदाधिकारीले ध्यान नदिएको कार्यालय प्र्रमुख कमलबहादुर महताराले बताए । अहिले फेरी सोही ठाउँमा १० लाख रकम आएको समेत उनले बताए । पोखरीमा अहिले माटो भारी मात्रामा रहेको छ । सहकारीका अध्यक्ष शेरबहादुर महतारालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया