मध्यपहाडी राजमार्गको पुल अलपत्र पार्ने वाईपी कन्स्ट्रक्सनलाई साढे ८ करोड जरिवाना


जाजरकोट । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय दैलेख वाईपी कन्स्ट्रक्सन प्रालिलाई ८ करोड रकम जरिवाना तिराउने भएको छ ।

शुक्रबार आयोजना निर्देशनालयले एक सूचना जारी गर्दै उक्त निर्माण व्यवसायीलाई ८ करोड रुपैयाँ ठेक्का सम्झौता अनुसारको रकम दाखिला गराउने जनाएको छ ।

वाईपी कन्स्ट्रक्सनले रुकुम –जाजरकोट जोड्ने भेरी नदिमा पुल निर्माण गर्ने काम अलपत्र पारेको थियो। निर्देशनालयले पटकपटक ताकेता गर्दा पनि निर्माण कार्य गर्न अटेर गरेपछि गत मंसिर २९ गतेको विभागीय निर्णय अनुसार ठेक्का सम्झौता अन्त्य गरिएको थियो ।

कम्पनीले २०६९ मा नै ठेक्का सम्झौता गरेको थियो। तर १० वर्षको समय वितिसक्दा पनि निर्माण कार्य भने सम्पन्न गर्न नसकेपछि निर्माण व्यवसायीसँग ठेक्का तोडिएको हो ।

सार्वजनिक खरिद नियमावली अनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीहरु बाटै उक्त योजनाको रकम असुल उपर गर्ने व्यवस्था रहेको छ। सोही नियमावली अनुसार उक्त ठेक्काको जम्मा रकम ८ करोड ५७ लाख ९५ हजार ६२६ रुपैयाँ रहेको छ । यो रकम निर्माण व्यवसायीले आयोजना निर्देशनालयलाई तिर्नुपर्ने छ ।

निर्माण व्यवसायीले यही सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्ने आयोजनाले जनाएको छ। साथै हाल सम्म भएको अधुरो कार्य स्वीकार योग्य नभएको हुँदा सार्वजनिक खरिद ऐन बमोजिम निर्माण कार्य पुरा गर्न लाग्ने रकम समेत वाईपी कन्स्ट्रक्सन बाट नै असुलउपर गरिने आयोजना निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया