जुनीचाँदेका महिलाको गुनासो : ‘अध्यक्ष र उपाध्यक्षमा पुरुष हुदाँ हाम्रा पीडा बुझ्दैनन्’

जुनीचाँदेका सुत्केरी महिलाले पाएनन भत्ता
जाजरकोट । गएको साउनमा जुनीचाँदे गाउँपालिका — ५ की मनिषा गिरीले प्राथमिक स्वास्थ्य केन्द्र गर्खा कोटमा शिशुलाई जन्म दिईन् । सुत्केरी भएर स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्कँदा उनलाई स्वास्थ्य संस्थाले सुत्केरी तथा गर्भवती जाँच तथा पोषण रकम बापतको भत्ता नदिएरै बिदा गर्यो । भत्ता लिनका लागि उनी तीन पटक स्वास्थ्य केन्द्रमा पुगिन् तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै रित्तो हात फर्किन बाध्य भइन् ।

पुस २२ गते जुनीचाँदे गाउँपालिका ४ कि विमला बिष्ट पनि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा सुत्केरी भईन् । उनले पनि सुत्केरी भत्ता बापतको रकम हालसम्म पनि प्राप्त नगरेको बताईन् । . उनलाई पनि सुत्केरी र पोषण भत्ता बापतको रकम गाउँपालिकाले नपठाएको भन्दै रित्तो हात घर फर्काइएको छ ।

मनिषा र विमला मात्रै होइन साउन महिनादेखि जुनीचाँदेका कुनै पनि सुत्केरी आमाले भत्ता पाउन सकेका छैनन् । आर्थिक विपन्नता र अभावमा गुज्रिएका आमाहरूलाई सुत्केरी अवस्थामा पोसिलो खानका लागि सहयोग मिलोस् भन्ने उद्देश्यले सरकारले सुत्केरी र पोषण भत्ता दिँदै आएको छ ।

सुत्केरी समयमा पोषणयुक्त खानेकुरा खानका लागि वितरण गर्ने रकम सुत्केरी भएको ६ महिनासम्म नपाएको भन्दै सुत्करी आमा र महिलाहरु आक्रोशित छन् तर आर्थिक रूपमा विपन्न यहाँका सुत्केरी आमाहरू भत्ता नपाएपछि पोसिलो खानेकुरा खान नपाएको गुनासो गर्छन् । आफूसँग त रकमै छैन सरकारले दिन्छ र पोसिलो खानेकुरा खाउँला भनेका थियौँ तर अहिलेसम्म रकम नपाउँदा निकै दुःख लागेको विमला विष्टको गुनासो छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै जना पुरुष भएका कारण महिलाको पीडा नबुझ्दा सुत्केरी महिलाहरु मर्कामा परेको उनीेहरुले गुनासो गरे । सुत्केरी समयमा पोषणयुक्त खानेकुरा खानका लागि वितरण गर्ने रकम सुत्केरी भएको ६ महिनासम्म नपाएको भन्दै सुत्करी आमा र महिलाहरु आक्रोशित हुँदै आएका छन् । बजेट विनियोजनको प्रक्रिया भनेर पटक पटक बदमासी गरेको महिलाहरुको भनाइ छ ।

उता रकम निकासामा भएको ढिलाइका कारण समयमै सुत्केरी भत्ता वितरण गर्न नसकेको जुनीचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रेमबहादुर शाहीले बताए । रकम निकासामा भएको ढिलाइका कारण चालु आर्थिक वर्षमा कसैलाई पनि सुत्केरी तथा पोषण भत्ता दिन नसकेको बताए । भत्ताका लागि पालिकामा आएका आठ जना आमाहरूको फाइल रकम निकासाका लागि प्रक्रिया अगाडी बढाएको शाहीको भनाइ छ ।

पालिकाका प्रमुख वेदबहादुर शाही सबै स्वास्थ्य संस्थामा रकम पठाउने प्रक्रिया अगाडि बढाएको बताउँछन् । रकम निकासा ढिलाइका कारण सुत्केरी प्रोत्साहन भत्ता जस्तो रकम नपाउनु कमजोरी रहेको शाहीको भनाइ छ । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी भएका भएका हरेक आमाले दुई हजार प्रोत्साहन भत्ता, दुई हजार पोषण भत्ता र आठ पटकसम्म गर्भ चेकजाँच गराएमा प्रति पटक एक सयका दरले आठ सय भत्ता पाउने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया