विमान दुर्घटनामा पत्रकार पौडेलको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए । प्रेस सेन्टरको पदाधिकारी वैठकका लागि उनी काठमाडौं आएका थिए । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेट्ने कार्यक्रमसमेत रहेकोमा प्रधानमन्त्री योगा दिवसको कार्यक्रममा व्यस्त भएपछि भेट्न नपाएको बुझिएको छ ।

करिब ४ वर्षअघि विवाहित पौडेलका एक छोरा रहेका छन् । पोखराको फुलबारीमा बस्दै आएका उनी पोखरा हटलाइन दैनिकका सम्पादक छन् ।

कास्की प्रहरीले पत्रकार पौडेल दुर्घटनामा परेको पुष्टी गरेको छ । उनको अवस्थाबारे आधिकारिक जानकारी दिइएको छैन ।
विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । हालसम्म ६८ शव निकालिएको छ ।

महासंघले १३ दिनसम्म शोक मनाउने
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा भएको विमान दुर्घटनामा निधन भएको पुष्टि भएको छ । महासंघले शोक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो ।

पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध र शोकमग्न भएको महासंघका महासचिव रोशन पुरीले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेलले पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । त्यसपछि अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा संवाददाताका रूपमा काम गरेका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिककै प्रकाशक तथा सम्पादक थिए । स्वर्गीय पौडेलका आमा, श्रीमती र एक छोरा छन् ।

‘उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले कुशल पत्रकार नेता गुमाएको छ । कास्की जिल्लाबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । नेपाल पत्रकार महासंघ स्वर्गीय पौडेलसहित विमान दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच महासंघको उपलब्ध केन्द्रीय सदखस्यहरुको आकस्मिक बैठकले केन्द्रीय सदस्य पौडेलको निधनमा महासंघ केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । जसअन्तर्गत सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभाबाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ । सोमबारदेखि नै १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरिएको छ ।

स्वर्गीय पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । २०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष भएका उनी महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिव भएर काम गरेका थिए ।

तपाईको प्रतिक्रिया