कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित

सुर्खेतकी नन्दा गुरुङ बनिन् कर्णाली प्रदेशको सभामुख
सुर्खेत । सुर्खेतकी नन्दा गुरुङ कर्णाली प्रदेशको सभामुख बनेकी छन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे ।

उनलाई कांग्रेसको मात्रै मत प्राप्त भएको हो । एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपा वा एकीकृत समाजवादीको १ मत प्राप्त भएको छ । ४९ सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए। गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।

सत्तारुढ गठबन्धनको केन्द्रीय समीकरणले कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले यो पटक महिला सांसदलाई सभामुखमा अघि सारेको हो । गुरुङ कर्णालीको दोस्रो सभामुख बनेकी हुन् । ०७४ मा दैलेखका राजबहादुर शाही प्रदेशको पहिलो सभामुख बनेका थिए । उनी एमाले प्रदेश कमिटी सदस्य हुन् ।

तपाईको प्रतिक्रिया